प्रमुख तीन दलले गठन गरेको वार्ता टोली र मधेसी मोर्चाबीच वार्ता जारी

काठमाडौं । प्रमुख तीन दलले गठन गरेको वार्ता टोली र मधेसी मोर्चाबीच आज (शुक्रबार) पनि वार्ता भएको छ ।
लामो समयदेखि तराईमा भइरहेको आन्दोलनका माग वार्ताबाट समाधान गर्न दुबै पक्ष सकारात्मक देखिएका छन् । बिहीबारदेखि औपचारिक वार्ता शुरु भएसँगै दुई पक्षबीच अविश्वास घट्दै गएको नेताहरुले बताएका छन् ।
सरकारले मधेस केन्द्रीत दललाई वार्ताको वातावरण बनाउन उनीहरुका मागबमोजिम अघि बढ्न सकिने स्पष्ट पार्दै भन्सार र राजमार्गमा अवरोध गर्नेलगायतका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । तर मोर्चाले भने सीमांकनसहितका विवाद समाधान नभएसम्म आन्दोलन फिर्ता नलिने अडान राखेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आन्दोलनरत पक्षका मागअनुसार सुरक्षाकर्मीलाई सामान्य जिम्मेवारीमा फर्काउन सकिने तथा गम्भीर अपराधमा संलग्न भएका बाहेकको मुद्दा फिर्ता लिन र पक्राउ परेकाहरुलाई रिहा गर्न सकिने बताउँदै त्यसका लागि आन्दोलनरत दलले बन्द हड्ताल र सीमा नाकामा अवरोध तत्काल रोक्नुपर्नेमा जोड दिएको छ । इमेजखबरमा समाचार छ ।