भारतले लगाउँदै आएको नाकाबन्दीको प्रभाव मुख्य भन्सार नाकाहरुमा जारी छ ।
देशको प्रमुख नाका वीरगन्ज भन्सार नाकाबाट १३ दिन यता कुनै पनि सामान बोकेको गाडी नेपाल नभित्रिए पनि अन्य नाकाहरुबाट फाट्टफुट्ट सामान आउने क्रम जारी छ ।
मधेसी मोर्चाका कार्यकर्ताले बीरगञ्ज भंसार सिमा नाका नजिकै रहेको मितेरी पुलमा धर्ना र प्रदर्शनलाई समेत जारी राखेका छन् ।
दसैंका लागि लक्षित गरी नेपाल भित्र्याउन लागिएको सयौं ट्रक खाद्यान्न र लत्ताकपडा अहिले भारतीय सिमा क्षेत्रमै रोकिएका हुन् । यसैगरी पेट्रोलियम पदार्थ बोकेको ट्यांकर र ग्यास बोकेका गाडीहरु पनि नाकामै अलपत्र छन् ।
भारतको रक्सौलमा नेपाल भित्रन लामबद्ध रहेका २ सय ५३ ग्यास बुलेट र ७० ट्यांकर पेट्रोलियम पदार्थ बोकेका गाडी रहेका छन् । रक्सौलबाट सुरु भएको गाडीको लाईन झण्डै २५ किलो मिटर टाढासम्म पुगेको छ ।
यसैबीच, मधेसी मोर्चाले ५४ औं दिन पुग्दा समेत मध्य पूर्वी तराईका जिल्लाहरुमा बन्द कायमै राखेको छ । लामो समयको बन्दका कारण बजार, यातायात, पसल, बैंक, सरकारी कार्यालयका साथै शिक्षणसंस्था समेत नखुल्दा स्थानियको दैनिकी कष्टकर बनेको छ ।
औषधी अभावमा तराईका अस्पतालहरु बन्द हुने अवस्थामा पुग्दा जनजीवन निसासिन थालेको छ ।
यातायातका साधन चल्न सकेको छैन भने बजारमा खाद्यान्ह, पेट्रोल, ग्यांस लगायतका दैनिक उपभोग्य सामाग्रीको चरम अभाव देखिएको छ ।
बन्दबाट धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरीलगायतका जिल्ला बढी प्रभावित बनेका हुन् । यि जिल्लाहरुमा मधेशी मोर्चाका कार्यकर्ताको धर्ना र प्रदर्शन पनि जारी छ । इमेजखबरमा समाचार छ ।