मोतिविन्दु, जलविन्दुलगायतका आँखाजन्य रोगका कारण नेपालमा हरेक दिन करिब १ सय २५ जनाले आँखाको दृष्टि गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ ।
विश्व दृष्टि दिवसको अवसरमा नेपाल आँखा अस्पतालले गरेको कार्यक्रममा दिइएको जानकारी अनुसार यसरी दृष्टि गुमाउनेमध्ये कम्तीमा सात जना बालबालिका हुने गरेका छन् ।
नियमित रुपमा आँखाको परीक्षण नगराउनु, आँखामा समस्या देखिए पनि समयमै अस्पताल नपुग्नुलगायतका कारणले दृष्टि गुम्ने गरेको विशेषज्ञ चिकित्सकहरुले बताएका छन् ।
पछिल्लो समयमा बालबालिकाले नियमित रुपमा लामो समयसम्म मोबाइल, ट्यावलेट, टेलिभिजनलगायतबाट भिडियो हेर्ने गरेका कारण पनि समस्या आउने गरेको चिकित्सहरुले बताएका छन् । उनीहरुले आँखालाई जोगाउनका लागि बालबालिकालाई यस्ता उपकरणहरुबाट टाढै राख्न सुझाव दिएका छन् ।
कार्यक्रममा पर्यटन मन्त्री कृपासुर शेर्पाले अहिलेको अवस्थामा जनताको आधारभूत स्वास्थ्य उपचारको ग्यारेन्टी गर्नु सरकारको दायित्व भए पनि अहिले देशका अधिकांश जनताले आधारभूत स्वास्थ्य सेवा पाउन नसक्नु दुःखद भएको बताए ।
विश्व दृष्टि दिवसको अवसरमा अस्पताल परिसरमा नेपालका चर्चित चित्रकारहरुले आँखा जोगाउने उपायलगायतका विषयमा चित्रसमेत कोरेका थिए ।
यसैबीच, विश्वदृष्टि दिवसको अवसरमा काठमाडौंको टेकुमा रहेको नमस्ते आँखा केन्द्र तथा युवा नेत्र सेवाले निःशुल्क रुपमा आँखाको परीक्षण गरेको छ ।
त्यस अवसरमा करिब आँखा रोग विशेषज्ञहरुले करिब ५० जनाको निःशुल्क रुपमा आँखा परिक्षण गरिएको थियो । इमेजखबरमा समाचार छ ।