भारतको अघोषित नाकाबन्दी अझै जारी, इन्धनलगायतका सामाग्रीको आयात सहज हुन सकेन

भारतको अघोषित नाकाबन्दीका कारण मुलुकका मुख्य भन्सार नाकाबाट शुक्रबार पनि इन्धनलगायतका सामाग्रीको आयात सहज हुन सकेन ।
पेट्रोलियम पदार्थले भरिएका सयौं सवारी-साधन अझै पनि भारतीय भूमिमै रोकिएका छन् ।
विराटनगरबाट १६० मालबाहक गाडी भित्रिए
विराटनगरको रानी भन्सारबाट भने शुक्रबार साझँसम्ममा १ सय ६० ओटा मालबाहक गाडी नेपाल पवबेश गरेका छन् । यसरी भित्रिनेमा पेट्रोलका तीन, डिजलका २४, दुईओटा ग्यास बोकेका बुलेट र अन्य फलफूल, कच्चा पदार्थ र मार्बललगायतका सामग्री बोकेका गाडी छन् ।
काँकडभिट्टाबाट ८० मालबाहक गाडी भित्रिए
पूर्वी नाका काँकडभिट्टाबाट शुक्रबार साझँसम्ममा ८० ओटा मालबाहक गाडी नेपाल भित्रिएका छन् । जसमा दुईओटा ग्यास बोकेका बुलेट छन् । सो नाकाबाट पेट्रोल र डिजल बोकेका गाडी भने नेपाल प्रवेश गरेका छैनन् ।
रुपैडिहाबाट २० मालबाहक गाडी आए
बाँकेको रुपैडिया-जमुनाहा नाकाबाट शुक्रबार दिउँसोसम्म तीनओटा डिजेल र एउटा ग्याँस बोकेकासहित २० ओटा मालबाहक गाडी नेपाल भित्रिएका छन् ।
कैलाली नाकाबाट न्यून इन्धन आयो
कैलालीको गौरीफन्टा नाकाबाट पनि मालबाहक गाडीहरु नेपाल भित्रनेक्रम जारी छ । यो नाका भएर शुक्रबार ४० हजार लिटर डिजल, १२ हजार लिटर पेट्रोल भित्रिएको छ । यो नाकाबाट अन्य गाडीहरु निर्वाधरुपमा नेपाल प्रवेश गरिरहेका छन् ।
वीरगन्ज नाका १६औं दिन पनि ठप्प
मुलुकको सबैभन्दा ठूलो वीरगन्ज भन्सार नाका भने शक्रबार १६औं दिन पनि ठप्प छ । मधेसी मोर्चाका कार्यकर्ताले रक्सौलनजिकै मितेरी पुलमा धर्ना र अवरोध जारी राखेका कारण यो नाकाबाट कुनै पनि सवारी-साधन भित्रिएका छैनन् ।
भैरहवाबाट पनि इन्धन आएन
अर्को प्रमुख नाका भैरहवाबाट ६ दिनयता कुनै पनि पेट्रोलियम पदार्थका ट्यांकर नेपाल भित्रन सकेका छैनन् ।
इमेजखबरमा समाचार छ ।