नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा. रामवरण यादवले नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
सपथलगत्तै प्रधानमन्त्री ओलीले सोमबारै आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
प्रधानमन्त्री ओलीले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीमा नियुक्त गरे । यसैगरी, प्रधानमन्त्री ओलीले पाँचजना मन्त्री नियुक्त गरेका छन् ।
मन्त्रीमा एमालेबाट अग्निप्रसाद खरेल, सोमप्रसाद पाण्डे र सत्यनारायण मण्डल रहेका छन् ।
यसैगरी, एकीकृत नेकपा माओवादीका हरिबोल गजुरेल र राप्रपा नेपालका रामकुमार सुब्बालाई मन्त्रीमा नियुक्त गरिएको छ । नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुले पनि सोही अवसरमा पद तथा गोपनीयताको सपथ लिए ।
नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, सभामुख सुवासचन्द्र नेम्वाङ, निवर्तमान प्रधानमन्त्री सुशील कोइराला, संवैधानिक निकायका प्रमुखहरु, कुटनीतिक नियोगका पदाधिकारीहरु, सरकारका उच्च अधिकारीहरु, पूर्वप्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी थिए । इमेजखबरमा समाचार छ ।