दसैं नजिकिरहँदा एकाएक मौसममा देखिएको बदली/गडबडीले सर्वसाधारणमा चिन्ता थपेको छ । १७ असोजमै मनसुन सकिए पनि एक/दुई दिनदेखि धुम्म हुनुका साथै असिनासहितको वर्षासँगै चिसो बढ्न थालेपछि दसैं मनाउन घर हिँडेका र हिँड्ने तरखरमा रहेका सर्वसाधारण निराश बनेका छन् । मौसमविद्ले भने क्षणिक बदली भन्दै नआत्तिन सर्वसाधारणसमक्ष आग्रह गरेका छन् ।
नेपालको हिमालय क्षेत्रमा उत्पन्न भएको लो-प्रेसर सिस्टमका कारण मौसममा गडबडी भएको हो, जल तथा मौसम पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ मौसमविद् जगदीश कर्माचार्यले भने, यो लामो समय रहन्न । महाशाखाले १७ असोजमा मनसुन सकिएको घोषणा गरेको थियो र त्यसलगत्तै एक साताका दिन घमाइला र रमाइला भएका थिए । तर, यसै सातादेखि नेपाली आकाशमा पानी पार्ने बादलको विकास भएर आकाश धुम्मिएपछि एकाएक मौसम बदलियो ।
काठमाडौं विश्वविद्यालयमा मौसम विज्ञानका अध्यापक तथा वरिष्ठ मौसमविद् मणिरत्न शाक्य स्थानीय प्रभावका कारण मौसममा गडबडी उत्पन्न भएकाले यो प्रक्रिया लामो नजाने बताउँछन् । आत्तिहाल्नुपर्ने अवस्था छैन, शाक्यले बुधबार कान्तिपुरसित भने, यो स्थानीय प्रभाव मात्र हो, एक दुई दिनमा सुधार भइहाल्छ । शाक्यका अनुसार स्थानीय बदलीका कारण गडयाङगुडुङसहित बदली भएको हो । मनसुन भर्खरै सकिएको र हिउँद सुरु नभइसकेकाले मौसममा फेरबदलजस्तो देखिएको छ, शाक्यले भने, यसमा सुधार आउँछ, हिले दसैं हुनेछैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मध्य र पश्चिम भागको आकाशमा बदली भई वर्षा भएको थियो । उपत्यकासहित कतिपय ठाउँमा भने असिनासहितको वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठले भर्खरै मनसुन सकिएकाले त्यसको असर देखा परेको बताए ।
स्थानीयस्तरको मात्रै बदली हो श्रेष्ठले भने, यसलाई पोस्ट मनुसनको गतिविधिभन्दा ठीक हुन्छ । उनका अनुसार सबैभन्दा बढी उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा बदली भएर वर्षा भएको छ । काठमाडौंसहित पूर्वी तराईका जिल्लामा पनि वर्षा भएको छ । बिहीबारदेखि त्यसमा सुधार आउने महाशाखाको अनुमान छ । महाशाखाले शुक्रबारदेखि क्रमश: मौसममा सुधार आउने आँकलन गरेको छ ।
बिहीबार मध्याहनदेखि मौसममा सुधार आउनेछ, मौसमविद् श्रेष्ठले थपे, शुक्रबारसम्ममा आकाश सफा हुने अनुमान छ । हिमाली र उच्च पहाडी भागको मौसम पूर्ण सुधार हुन भने केही समय लाग्ने मौसमविद्हरूको अनुमान छ । महाशाखाले हिमाली भागमा हिमपात हुनेसमेत बताएको छ । ईकान्तिपुरमा समाचार छ ।