दशैंतिहारका बेला कोहलपुर नगर क्षेत्रलाई खुला तथा अव्यवस्थित मासुमुक्त बनाइने

दशैंतिहारका बेला कोहलपुर नगर क्षेत्रलाई खुला तथा अव्यवस्थित मासुमुक्त बनाइने भएको छ। कोहलपुरमा नगरपालिकाले बजार अनुगमन सुरु गर्दै चाडपर्वमा खुला मासुमुक्त बनाउने घोषणा गरेको हो।
खुला तथा अव्यवस्थित माछामासुको अनुगमन गरी नियन्त्रण गर्न पुनरावेदन अदालत नेपालगन्जले जिल्ला प्रशासनलाई आदेश गरेपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नगरमा खुल्ला मासुमुक्त अभियान थालिएको नगरपालिकाका कार्यकारी अधिकृत गोविन्दप्रसाद पाण्डेले बताए ।
असोज २७ गतेबाट अभियान थालेको नगरपालिकाले दुई दिनमा २४ वटा माछामासु व्यवसाय अनुगमन गरी कारवाहीसमेत थालेको उनले बताए । सार्वजनिक स्थल तथा बाटोमा राखिएका माछामासु पसललाई कारवाहीको दायरामा ल्याई खुल्ला मुक्त नबनाए पाँच सयदेखि एक हजार रुपैयाँ जरिवाना उठाउने तयारी भएको पाण्डेले जानकारी दिए । उनले चाडपर्वको अवधिमा मासु व्यवसाय दर्ता गरी पान नम्बर लिन, सटर वा पसलमा सिसा, जाली, फ्रिज राखी कारोबार गर्न निर्देशन दिएको छ ।
दशैंअघि कात्तीक ३ गतेभित्र नगरका सबै माछामासु पसलको अनुगमन गरी खुला तथा अव्यवस्थित मुक्त बनाइने नगरपालिकाले जनाएको छ । नगरभित्र नियम पालना नगर्ने मासु व्यवसायीलाई स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १८५(च) बमोजिम कानुनी कारवाही अगाडी बढाइने कार्यकारी अधिकृत पाण्डेले बताए । नागरिकन्युजमा समाचार छ ।