उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न प्रतिबद्ध भएर लाग्ने बताएका छन ।
आज सिंहदरबारमा पदबहाली गर्दै उनले ऊर्जा सङ्कटका कारण मुलकको उद्योगधन्दा चौपट भएको र नागरिकको जनजीवनसमेत समस्यामा परेकाले त्यसलाई समाधान गर्न हरसम्भव प्रयास गर्ने बताए ।
ऊर्जा क्षेत्रको आफू विज्ञ नभए पनि सबैसँग मिलेर काम गर्ने र मुलुकलाई अगाडि बढाउन प्रतिबद्ध रहेको उनको भनाइ थियो । ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धि गर्नका लागि सबैको साथ र सहयोग जरुरी रहेको भन्दै मन्त्री रायमाझीले एउटा टेबलबाट अर्को टेबलमा फाइल सर्न महिनौँ लाग्ने प्रवृत्तिको अन्त्य गरिनुपर्ने उल्लेख गरे ।
लगानी अभिवृद्धि गर्न र ऊर्जा सङ्कटलाई समाधान गर्न प्रभावकारी योजना र सहज कार्यान्वयनको आवश्यकता रहेकामा जोड दिँदै गलत काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
ऊर्जा सङ्कट समाधानका लागि ठूला र जलाशयुक्त आयोजना अगाडि बढाउनु अत्यावश्यक रहेको भन्दै उनले सकारात्मक कामलाई अगाडि बढाउने र नकारात्मक प्रवृत्तिको अन्त्यका लागि आजैबाट प्रतिबद्ध भएर लाग्न कर्मचारीलाई निर्देशन दिए । म सकारात्मक सोचका साथ काम गर्न आएको छु, तपार्इंहरु पनि सकारात्मक तबरले काम गर्नुस्, नकारात्मक प्रवृत्तिको अन्त्य गरिनुपर्छ, मुलुकले भोगेको ऊर्जा सङ्कट समाधान गर्न हामी सबैको प्रयास जरुरी छ , मन्त्री रायमाझीले भने ।
सो अवसरमा ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले मन्त्री रायमाझीलाई ऊर्जा मन्त्रालयले निर्वाह गरिरहेको कामका बारेमा जानकारी गराएका थिए । मन्त्रालयमा उच्च पदस्थ अधिकारीले मन्त्री रायमाझीको स्वागत गरेका थिए ।
अर्घाखाँचीको अर्घामा २०१८ सालमा जन्मनुभएका उपप्रधानमन्त्री रायमाझी विज्ञानमा स्नातकसम्मको अध्ययन गरेका छन । एमाओवादीको सचिव रहेका उनी संविधानसभाको दोस्रो निर्वाचनमा अर्घाखाँची क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।
यसअघि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात, शान्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका रायमाझी दुई वर्ष जेल र पाँच वर्ष निर्वासनमा रहेका थिए । विसं २०३० देखि राजनीतिमा सक्रिय उपप्रधानमन्त्री रायमाझी एमाओवादीका प्रभावशाली नेता हुन । रासस