मधेसी मोर्चाद्धारा आन्दोलन रोकेर वार्तामा आउन नसकिने उल्लेख

अान्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा आउन गरेको पत्रको जवाफ आइतबार दिएको छ। प्रधानमन्त्री कार्यालयलाई पठाएको पत्रमा आन्दोलन रोकेर वार्तामा आउन नसकिने उल्लेख छ।
 अहिलेको बाध्यात्मक परिस्थितिको कारण आन्दोलन रोक्न सकिन्न भन्ने जवाफ हामीले दिएका छौं , सरकारलाई पठाएको पत्रको व्यवहोरा उदृत गर्दै तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश यादवले भने,  हामी सधैँ सार्थक वार्ताको पक्षमा छौं। सरकार वार्ताप्रति गम्भीर भएन। 
मोर्चाका नेताहरु यसअघि सरकारले गरेको पत्रको जवाफ समेत नदिने पक्षमा देखिएका थिए।
तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुली बजारमा आइतबार दिउसो बसेको बैठकले सरकारलाई वार्ताको जवाफ दिने निर्णय गरेको हो।
बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका महासचिव मनिषकुमार सुमन, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालाबाबु राउत तथा तराई मधेस सदभावना पार्टीका उपाध्यक्ष रामनरेश राय यादव सहभागी थिए।
प्रधानमन्त्री सुशील कोइरालाको पालामा तीन पटक वार्ता भए पनि त्यो निष्कर्षमा पुग्न सकेको थिएन। मोर्चाले त्यतिबेला बनाएको वार्ता टोलीमा फोरमका लालबाबु राउत, सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण, तमलोपाका सर्वेन्द्रनाथ शुक्ला थिए।
 हामीले वार्ताको पक्षमा रहे पनि सरकारले सार्थक रेस्पोन्स गरेको छैन’, सद्भावनाका महासचिव मनिषकुमार सुमनले भने, आन्दोलन रोकेर वार्तामा जान सक्ने अवस्था छैन। 
मोर्चासँग तीन चरणेको वार्ता सकिएको अवस्थामा सुशील कोइराला सरकार ढलेको थियो। नयाँ सरकारले मोर्चासँग वार्ता गर्न पत्राचार गरेको थियो। त्यही सन्दर्भमा मोर्चाले आइतबार जवाफ दिएको हो। नागरिकन्युजमा समाचार छ ।