भारतले नेपालमाथि लगाएको नाकाबन्दी सार्कको भावना विपरित: बंगलादेश

बंगलादेशका वाणिज्यमन्त्री टोफेल अहमदले भारतले नेपालमाथि लगाएको नाकाबन्दी सार्कको भावना विपरित भएको बताएका छन् ।
भारतीय अखबार दि हिन्दु सँग कुरा गर्दै बंगलादेशी वाणिज्यमन्त्री अहमदले नाकाबन्दीका कारण नेपालको अर्थतन्त्रलाई मात्र नभई समग्र सार्क क्षेत्रकै सम्बृद्धिको सम्भाव्यतालाई आघात पुर्‍याएको बताए । उनले नाकाबन्दी चाँडै हटाउनुपर्ने समेत बताए ।
नाकाबन्दीले दुई पक्षीय मामिलामात्र नभई सार्क सदस्य राष्ट्रहरुको साझा सम्बृद्धिको योजनालाई आघात पुर्‍याउने सम्भावना रहेको उनको भनाइ थियो ।
मन्त्री अहमदले भारतले लगाएको नाकाबन्दी दक्षिण एसियाको क्षेत्रीय साझेदारीको भावनाअनुरुप नभएको बताए ।
यसवर्षको जुनमा नेपाल, भारत र बंगलादेशबीच व्यवसायिक सवारीसाधनको आवातजावत सहजीकरण गर्ने उद्देश्यका साथ बिबिआइएन ट्रान्सपोर्ट नेटवर्कको संरचना निर्माणमा सहमति भएको थियो । भारतीय नाकाबन्दीले बिबिआइएन जस्तो सहमतिमाथि प्रहार गरेको बंगलादेशी वाणिज्य मन्त्रीको भनाइ छ ।
उनले नाकाबन्दी जारी रहे बंगलादेशी ट्रक मालिकहरु, बन्दरगाह र कम्पनीहरुलाई नकारात्मक प्रभाव पर्ने भन्दै नाकाबन्दीको चाँडै समाधान खोजिने विश्वास व्यक्त गरे । (इमेजखबर/एजेन्सी)