दसैँका लागि लाखौँको सङ्ख्यामा सर्वसाधारण बाहिरिएपछि काठमाडौँ उपत्यका प्रायः सुनसान

दसैँका लागि लाखौँको सङ्ख्यामा सर्वसाधारण बाहिरिएपछि काठमाडौँ उपत्यका प्रायः सुनसानजस्तै देखिएको छ ।
दसैँ मनाउन गाउँतर्फ लाग्ने र काठमाडौँबाट विभिन्न पर्यटकीय स्थलमा घुम्न जानेको सङख्या ह्वात्तै बढेपछि राजधानी सुनसान बनेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज बिहानसम्ममा सात लाख ६० हजार सर्वसाधारण उपत्यकाबाट बाहिरिएका छन् ।
इन्धन अभावले कम सवारीसाधन चलेपनि उपत्यका छाड्नेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा कम छैन । अघिल्लो वर्ष फुलपातीका दिन एक लाख ९१९ जना बाहिरिएकामा यो वर्ष फुलपातीका दिन एक लाख छ हजारले उपत्यका छाडेका छन् । सबैभन्दा बढी गत दुई गते एक लाख ११ हजार ८७७ जनाले काठमाडौं छाडेका छन् ।
कम गाडी चलेपनि गाडीमा कोच्चिएर, च्यापिएर र छतमासमेत बसेर भएपनि विगतका वर्षजस्तै सर्वसाधारण ठूलो सङ्ख्यामा गन्तब्यतर्फ बाहिरिएको महाशाखाका प्रवक्ता राजेन्द्र भट्टले राससलाई जानकारी दिP । आज पनि ठूलो सङ्ख्यामा सर्वसाधारण बाहिरिएका छन् ।
यता नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले अहिलेसम्म करिब नौ लाख मानिस काठमाडौँ उपत्यका बाहिर गएको जनाएको छ ।
उपत्यका बाहिर घर तथा आफन्तजन भई काठमाडौँ आएर बसोबास गरेका कर्मचारी तथा विद्यार्थीलगायत दसैँँका लागि टीका लगाउन गएका हुन् ।
कलङ्की, बल्खु, कोटेश्वर, बालाजु बाइपासलगायत नाकाबाट सर्वसाधारण मानिस बाहिरिए ।
महासङ्घका अनुसार गत वर्ष करिब १८ लाख मानिस काठमाडौँबाट बाहिर गएका थिए ।
महासङ्घका महासचिव सरोज सिटौलाले इन्धनको सहज आपूर्ति हुन नसक्दा सया} गाडी थन्केर बस्नुपरेको अहिलेको अवस्थामा यात्रुलाई केही असहज स्थिति आएको बताए ।
बडादसैँको महाअष्टमीका दिन आज उपत्यकाका सडक पूरै खाली देखिएका छन् । चावहिल, नयाँवानेश्वर, माइतीघर, अनामनगर, त्रिपुरेश्वर, रत्नपार्क, दरबारमार्गलगायतका स्थानका सडक सुनसान देखिएका छन् । केही निजी सवारी साधन र पातलो सङ्ख्यामा टेम्पो तथा फाट्टफुटृ मोटरसाईकल मात्र चलेका छन् । उपत्यकामा लामो दूरीमा गुड्ने सार्वजनिक बस नचलेपछि कामकाजी सर्वसाधारण एक दुई वटा चलेका बसमा कोचिएर र छतमा समेत जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
दसैँका लागि घर जाने मात्र हैन विदाको समय छोपी विभिन्न गन्तब्यहरुमा घुम्न जानेको सङ्ख्या पनि बाक्लै छ ।
काठमाडौँका अधिकांश फुर्सदिला मानिस पोखरा, चितवनको सौराहा, मुक्तिनाथलगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुमा घुम्न गएका छन् ।
दसैँको बिदा छल्न र उपत्यकाको पेट्रोलियम पदार्थको अभावबाट केही दिन भएपनि मुक्ति लिनका लागि सौराहा घुम्न परिवारसहित हिँडेको सातदोवाटोकी देवीमाया खड्काले बताउनुभयो ।
उपत्यकाको अभावबाट केहीसमय भएपनि आनन्द लिनका लागि नवलपरासीतिर लागेको सुकदेव चापागार्इँले बताए ।
यसवर्ष भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थलगायत इन्धन अभाव भएपछि सवारी साधन सञ्चालनमा समेत कमी भएको र मानिसको चाप बढेको छ ।
सार्वजनिक बसका छतमा समेत कतिपय मानिसले जोखिमपूर्ण यात्रा गरेका छन । कतिपय मानिसले घरै जाने कार्यक्रमलाई स्थगित गरेका छन् ।
सवारी दुर्घटना न्यूनीकरणका लागि उपत्यकामा मादक पदार्थ सेवन गरी सडकमा लापर्वाहीपूर्वक सवारीसाधन चलाई दुर्घटना बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले चालकको निगरानी र परीक्षणलाई तीब्रता दिएको छ ।
उपत्यकाका विभिन्न १५ स्थानमा मापसे, सवारीचालक अनुमतिपत्र परीक्षण तथा लापर्वाही गरी सवारी चलाउनेको निगरानी भइरहेको महाशाखाका प्रहरी उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले बताए ।
उहाँका अनुसार उच्च प्रहरी अधिकृत प्रत्यक्ष गएर सडकमा हुने गतिविधिका बारेमा जिम्मेबारीपूर्वक अनुगमन गरिरहेका छन् । अहिलेसम्म उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । रासस