उपराष्ट्रपति पदका लागि कार्तिक १४ गते मतदान हुने

व्यवस्थापिका-संसद सचिवालयले राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनको कार्यतालिकामा संशोधन गरेको छ ।
संशोधित कार्यतालिका अनुसार राष्ट्रपति पदका लागि कार्तिक ११ गते र उपराष्ट्रपति पदका लागि कार्तिक १४ गते मतदान हुने भएको छ ।
यसअघि राष्ट्रपति र उपराष्ट्रपति पदका लागि कार्तिक ११ गते निर्वाचन गर्ने कार्यतालिका रहेको थियो ।
संशोधित कार्यतालिका अनुसार उपराष्ट्रपति पदको उम्मेदवारी मनोनयन आगामी १३ गते र निर्वाचन १४ गते गर्ने तय भएको छ ।
राष्ट्रपति पदका लागि भने आज उम्मेदवारी मनोनयन दर्ता हुने छ भने बुधबार निर्वाचन हुने जनाइएको छ ।
सत्तारुढ दलका तर्फबाट राष्ट्रपति पदमा एमाले उपाध्यक्ष विद्या भण्डारीले उम्मेदवारी दिने जनाइएको छ ।
सो पदमा कांग्रेसले पनि आफ्नो उम्मेदवारी दिने जनाएको छ ।
त्यस्तै उपराष्ट्रपति पदमा सत्तारुढ गठबन्धनका तर्फबाट एमाओवादीका नन्दकिशोर पुनलाई उम्मेदवार बनाइने बताइएको छ ।
उपराष्ट्रपति पदमा पनि कांग्रेसले छुट्टै उम्मेदवारी दिने जनाएको छ । इमेजखबरमा समाचार छ ।