नेपालको तराई-मधेसमा जारी आन्दोलनलाई मध्यनजर गर्दै भारतले आफ्ना नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।
वीरगंजमा प्रहरीको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएपछि भारतले यस्तो कदम चालेको जनाइएको छ । यसअघि वीरगंजमै अवरुद्ध नाका खुलाउने क्रममा मितेरी पुलबाट नियन्त्रणमा लिइएका पाँच धर्नाकारीमध्ये दुई जना भारतीय रहेको नेपाल प्रहरीले जनाएको थियो ।
मधेस आन्दोलनमा भारतीय नागरिकको संलग्नता खुल्दै गएको परिस्थितीमा भारतले आफ्ना नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको समाचार प्रकाशमा आएको छ । भारतीय अखबार दैनिक भाष्कर को अनलाईन संस्करणले भारतीय महावाणिज्यदुतावासका कन्सल्टेन्ट जनरल अन्जु रन्जनलाई उद्धृत गर्दै नेपालतर्फ भारतीय नागरिकलाई प्रवेश गर्न रोक लगाइएको जनाएको हो ।
आफ्ना नागरिकको सुरक्षाका लागि यस्तो कदम चालिएको भारतीय अधिकारीले जनाएका छन् । इमेजखबरमा समाचार छ ।