नर्निर्माणसम्बन्धी विधेयक सदनमा शीघ्र पेस हुने जानकारी दिँदै पुनःनिर्माण प्राधिकरण गठनको काम पनि तदारुकताका साथ गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणसम्बन्धी विधेयक सदनमा शीघ्र पेस हुने जानकारी दिँदै पुनःनिर्माण प्राधिकरण गठनको काम पनि तदारुकताका साथ गरिने बताएका छन्। 
 
युरोपेली प्रतिनिधिमण्डल र फ्रान्सका राजदूत तथा विश्व बैङ्क र अन्तर्राष्ट्रिय विकासका लागि बेलायती विकास विभाग (डिएफआइडी) का  नेपाल प्रमुखसँग बिहीबार आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले यस्तो आश्वासन दिएका हुन्। 
 
प्रधानमन्त्रीसँगको भेटमा आफूहरूले विकास सहायता, मानवीय सहयोग, भूकम्पपछिको पुनःनिर्माण एवम् पुनःनिर्माण प्राधिकरण गठनलगायत समसामयिक विषयमा छलफल गरेको युरोपेली प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले पत्रकारहरूलाई बताए। 
 
शिशिर याम सुरु हुनुअगावै भूकम्पपीडितलाई मानवीय सहायताका सामग्री पुर्‍याउन र पुनःनिर्माणका कार्य तदारुकताका साथ अघि बढाउन जरुरी भएकामा आफूहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले जानकारी दिए।रासस