उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका अधिकांश मागप्रति सरकार सकारात्मक भएकाले चाँडो त्यस विषयमा निर्णय हुने बताएका छन् ।
मधेसी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक)को सातौं स्थापना दिवसका अवसरमा आयोजित बृहत् रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्ने लगायतका विषयमा सरकार सकारात्मक भएको बताए ।
उनले मृतकका परिवारलाई रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउने, आन्दोलनका घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउने र उनीहरुका मुद्दा फिर्ता लिने विषयलाई राज्यले सम्बोधन गर्ने उल्लेख गरे ।
त्यसैगरी, उपप्रधानमन्त्री गच्छदारले थारू तथा मधेसी मोर्चाले माग गरेको प्रदेशको सङ्ख्या र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारणका विषयमा पनि संविधान संशोधन गरेर सम्बोधन गरिने बताए ।
सरकार र मोर्चाबीचको वार्ता सकारात्मक हुँदै गएको अवस्थामा वीरगन्जमा घटेका घटनापछि बिनानिष्कर्ष टुङ्गिएको उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले वर्तमान अवस्थामा सकारात्मक तवरले समाधानको बाटो खोजिने स्पष्ट पारे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीको पनि सहभागिता थियो ।
कार्यक्रममा मधेसी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष कपिलेश्वर यादवले कार्यक्रमपछि सङ्कलित रगतले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । (रासस)