हवाइ इन्धनको अभाव भएपछि आइतबारदेखि निजी विमान कम्पनीका आन्तरिक उडान बन्द हुने नेपाल आयल निगम हवाइ इन्धन डिपो प्रमुख प्रदीप यादवले बताएका छन् । आइतबारदेखि सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्सको उडानमात्रै सुचारु हुनेछ । अन्लाईनखबरमा समाचार छ ।
यादवका अनुसार अहिले डिपोमा १४० किलोलिटर मात्र हवाइ इन्धन मौज्दात छ । आयल निगमले शनिबार ५० प्रतिशत मात्रै इन्धन उपलब्ध गराउने, तर आइतबारदेखि तेल दिन नसक्ने जनाएकाले आइतबारदेखि आन्तरिक उडान बन्द हुने यादवले बताए ।
नेपाल एयरलाइन्सले सम्झौता अनुसार इन्धन नल्याइदिँदा आन्तरिक उडान पनि बन्द गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ ।
भारतीय नाकाबन्दीपछि उत्पन्न इन्धन संकट टार्न र आन्तरिक उडान नियमित गराउन भन्दै निगमले अन्तर्राष्ट्रिय उडानलाई यसअघि नै हवाइ इन्धन उपलब्ध गराउन छाडिसकेको छ ।
नेपाल एयरलाइन्सले कार्गो उडान गरी बोकेको इन्धनबाट चलेको आन्तरिक उडानलाई समेत आइतबारदेखि इन्धन उपलब्ध गराउन नसक्ने अवस्थामा निगम पुगेको छ ।
अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीहरुले विभिन्न ठाउँमा प्राविधिक अवतरण गरी इन्धन भरेर उडान गरिरहेका छन् । यसरी उडान भर्दा खर्च दोब्बर भएको भन्दै अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालकहरुले यथासक्य चाँडो इन्धनको जोहो गरिदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
तर, यहाँ इन्धनको अभावले आन्तरिक उडान समेत बन्द हुने भएको छ । आन्तरिक उडान सुचारु राख्न नेपाल एयरलाइन्ससँग दैनिक ४ वटा कार्गो उडान गरी इन्धन ल्याउने सम्झौता भएको थियो हवाइ इन्धन डिपो प्रमुख यादवले भने- तर, उसले सम्झौता अनुसार तेल ल्याइदिएन ।
दैनिक एउटा दुईवटामात्र कार्गो उडान गरी इन्धन ल्याउँदा प्रयाप्त हुन नसकेको यादवको भनाइ छ । नेपाल एयरलाइन्सले तीन वटासम्म भए पनि उडान गरी इन्धन ल्याइदिएमा आन्तरिक उडान सुचारु राख्न सकिन्छ उनले भने- नेपाल एयरलाइन्सले त यति पनि गरिदिएन, जसले गर्दा अतिआवश्यक आन्तरिक उडान समेत बन्न गर्नुपर्ने अवस्था आयो ।
नेपाल एयरलाइन्स भने निगमको यो आरोप मान्न तयार छैन । निगमसँग यति नै तेल ल्याइदिन्छौं भनेर सम्झौता नगरेको बताउँदै नेपाल एयरलाइन्सका प्रवक्ता रामहरि शर्मा भन्छन्- दैनिक ४ वटासम्म कार्गो उडान गरी इन्धन ल्याउन सक्ने बताएका मात्र हौं ।
सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको व्यवस्थापन चुस्त नहुँदा सम्झौता अनुसार कार्गो उडान गरी इन्धन बोक्न नसकेको हवाइ इन्धन डिपो प्रमुख यादव बताउँछन् । निगमको कहिले पाइलट बिदामा बसिदिन्छन, कहिले एयर क्रुहरु ढिला आइदिन्छन, जसले गर्दा उडान नै हुँदैनन् उनले भने- संकटको बेलामा नेपाल एयरलाइन्सको काम चुस्त हुन सकेन्, सरकारी पारा देखाइरहृयो ।
आयल निगमले नेपाल एयरलाइन्सले प्रयाप्त हवाई इन्धन ल्याउन नसकेको आरोप लगाउँदै आयल निगमले पेट्रोलिम्याक्सलाई इन्धन आपूर्तिको जिम्मा दिएपछि नेपाल एयरलाइन्स असन्तुष्ट बनेको छ ।
दसैंजस्तो महान पर्वमा इन्धन बोकेर आन्तरिक उडान सुचारु राख्न सहयोग पुर्याउने नेपाल एयरलाइन्सलाई धन्यवाद दिनुको साटो आरोप लगाइएको भन्दै प्रवक्ता शर्माले बिहीबार अनलाइनखबरसँगको कुराकानीमा असन्तुष्टि व्यक्त गरेका थिए ।
नेपाल एयरलाइन्सले बुधबार एउटा पनि कार्गो उडान गरेन । बिहीबार दुईवटामात्र कार्गो उडान गरेर इन्धन ल्यायो । शुक्रबार यो समाचार तयार पार्दासम्म उडान नगरेको यादवले बताए ।
काठमाडौंबाट उडेको तीन घण्टामा कोलकाताबाट इन्धन बोकेर काठमाडौं आइसकिन्छ । तर, संकटका बेलामा इन्धन बोक्ने भन्दै अगि्रम रकम बुझाउँदा समेत निगमले सम्झौता अनुसार काम नगरिदिएको यादवको गुनासो छ ।
आन्तरिक उडानलाई दैनिक ५५ हजार लिटर हवाइ इन्धन आवश्यक हुन्छ, निगमले जम्मा १/२ उडान गरिदिन्छ यादवले भने- अब निगमले ३ देखि ४ वटा उडान नियमित गरेर इन्धन ल्याइदियो भने आन्तरिक उडान सुचारु हुन्छ, नत्रभने पूर्ण रुपमा ठप्प हुन्छ ।
निगमले एउटा कार्गो उडानमा जम्मा २२ हजार लिटरमात्र हवाइ इन्धन बोक्न सक्छ । यहाँ ५५ हजार लिटर दैनिक खपत हुने गरेको छ । निकै कममात्र इन्धन आपूर्ति हुँदा डिपो रित्तिँदै गएको यादवले बताए ।
अहिले आन्तरिक र बाहृय उडानलाई गरी दैनिक साढे ४ लाख लिटर हवाइ इन्धन खपत हुन्छ । इन्धन आपूर्ति गर्ने स्वीकृति पाएको पेट्रोलिम्याक्सले दैनिक ४ लाख लिटर तेल ल्याउने प्रतिवद्धता जनाएको छ ।