चीनले अनुदानमा दिएको मध्ये हालसम्म ३ लाख ४० हजार लिटर पेट्रोल नेपाल भित्रिएको छ ।
अहिलेसम्म ३७ वटा ट्याङ्करले केरुङबाट ३ लाख ४० हजार लिटर पेट्रोल काठमाडौं ल्याएको आयल निगमले जनाएको छ । निगमका अनुसार चीनले अनुदानमा दिएका मध्ये अझै ९ लाख ५९ हजार लिटर पेट्रोल ल्याउन बांकी छ ।
चीनबाट ल्याइएको पेट्रोलबाट हालसम्म ९६ लाख ८१ हजार ८ सय १४ रुपैयां राजश्व संकलन भएको रसुवा भंसार कार्यालयले जनाएको छ ।
यसैबीच, पेट्रोल लिन शुक्रबार सांझ सातवटा ट्याङकर रसुवा सदरमुकाम धुन्चेबाट केरुङ तर्फ गएकोमा शनिबार सांझसम्म नेपाल आउने रसुवागढी भंसार कार्यालयका भंसार अधिकृत श्याम बस्नेतले जानकारी दिए ।
शुक्रबार काठमाडौंबाट गएका १८ वटा ट्याङकरमध्ये सात वटा केरुङ गएको र बांकी शनिबार जाने बताइएको हो ।
शनिबार पनि काठमाडौंबाट पेट्रोल लिन थप ट्याङकर रसुवा तर्फ लागेको छ । चीनले १३ लाख लिटर पेट्रोल अनुदानको रुपमा नेपाललाई उपलव्ध गराएको छ । इमेजखबरमा समाचार छ ।