भारतद्धारा नाकाबन्दीमा झन् कडाइ

 बिहारको विधानसभा निर्वाचन सकिएको तीन दिन बिते पनि भारतले पेट्रोलियम पदार्थ छोड्न मानेको छैन। पेट्रोलियम पदार्थमा भारतले झन् कडाइ सुरू गरेको छ। नोभेम्बर ५ मा चुनाव सकिएर त्यसै दिन साँझ ७ बजे सिमा खुले पनि भारतले पेट्रोलियम पदार्थ छोड्न मानेको छैन।  सेतोपाटीमा समाचार छ ।   
 
विधानसभाका लागि भारतले नोभेम्बर ३ मा  सिमा सिल गरेको थियो। नोभेम्बर ५ को साँझ नाका खुलेपछि पनि पेट्रोलियम पदार्थ आजसम्म भित्रिन नसकेको नेपालस्थित अधिकारीहरूले जनाएका छन्। 
 
अधिकारीहरूका अनुसार पाँच दिनदेखि पेट्रोलियम भित्रिन छोडेकाले तिहारको समयमा संकट निम्तिने खतरा बढेको छ। जोगबनी नाकापारि पेट्रोल, डिजेल र ग्यासका बुलेट लाइनमा लागेका छन् तर जाँचपास दिइएको छैन। 
 
जोगबनी नाकादेखि दुई किलोमिटर टाढा जोगबनी प्रहरी चौकीमा पेट्रोलियम पदार्थ बोकेका एक सय एक गाडी रोकिएको स्थानीय प्रशासनले जनाएको छ। अन्य सामग्री बोकेका सवारीसाधनलाई भने भारतले जाँचपास दिइरहेको छ। रानीस्थित सिमा प्रहरी चौकीका सई विकास खत्रीका अनुसार फलफूल र फलामका सामग्री बोकेका साधन आइरहेका छन् तर त्यही लाइनमा रहेका पेट्रोलियम बोकेका ट्याङ्कर भने आउन सकेका छैनन्। 
 
 समय लाग्छ, आउँछ भन्ने तर ट्याङ्कर नछोड्ने रणनीति देखिन्छ, खत्रीले सेतोपाटीसँग भने,  म आफैं जोगबनी प्रहरी स्टेशनमा पुगेर धेरैपटक आग्रह गरें तर पेट्रोलियम आएको छैन।  विराटनगर भन्सार कार्यालयका अनुसार शनिबार एक सय र शुक्रबार पचास वटा गाडी नेपाल आए तर तेल बोकेका गाडी आएनन्। 
 
 तेल बोकेकै गाडी चाहिँ नेपाल छिर्न कडा गरिएको छ, भन्सार प्रमुख कृष्ण बस्नेतले भने,  आज विहान भारत गएर मैले त्यहाँका अधिकारीहरूसँग कुरा गरें, जाँचपासको क्रममा छौं भन्ने जवाफ आएको छ।  उनका अनुसार भारतीय अधिकारीले  पर्खिन भन्ने गरेका छन् तर पेट्रोलियमको जाँचपासमा कडा गर्ने गरेका छन्। 
 
पेट्रोलियम भित्रिने नाका आसपास रानी, विराटनगर र सुनसरीमा पनि आन्दोलन छैन। पहिले भारतीय पक्षले नेपालमा चलिरहेको आन्दोलनका कारण असुरक्षा बढेको भन्दै सामान जाँचपास बन्द गरेको थियो। त्यतिबेलै पनि बेला-बेला जाँचपास खोल्ने गरेको थियो। 
 
आन्दोलन नभए पनि तेल आउन सकेको छैन,  प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले भने,  आउँछ भन्ने आश्वासन छ, तर आइरहेको छैन। थप कारण बुझ्न सकेका छैनौं।
 
नेपालस्थित अधिकारीका अनुसार पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले भारतविरूद्ध बोल्न थालेपछि पेट्रोलियममा थप कडाइ भएको महसुस भएको छ। गृहका एक अधिकारीका अनुसार भारतीय भन्सार अधिकारीले पेट्रोलियम पदार्थ रोक्ने भनेका छैनन् तर अनौपचारिक कुराकानीमा नाकाबन्दीबारे प्रधानमन्त्री केपी ओलीलाई सोध्नुस् भन्ने गरेका छन्। 
 
पठाउँछौं भन्ने तर नआउने गरेपछि के भएको हो भनेर हामीले बुझ्ने कोसिस गरेका थियौं,  ती अधिकारीले भने,  भारतीय अधिकारीले नेपालका प्रधानमन्त्रीलाई सोध्नुस् भन्ने गरेपछि उच्च तहबाटै निर्देशन हो कि भन्ने शंका हामीलाई लागेको छ। पछिल्ला दिनमा प्रधानमन्त्री ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा सरकारका मन्त्रीहरू भारतको चर्को आलोचनामा उत्रिने गरेका थिए। सेतोपाटीमा समाचार छ ।