हवाइ इन्धन अभावले आन्तरिक उडानहरु बन्द भएपछि पोखरा विमानस्थल सुनसान

हवाइ इन्धन अभावले आन्तरिक उडानहरु बन्द भएपछि पोखरा विमानस्थल आइतबार सुनसान बनेको छ ।
पोखराबाट काठमाडाैं र हिमालपारीको मुस्ताङस्थित जोमसोममा नियमित उडान हुँदै आएको थियो । यहाँबाट बुद्ध एयरले दैनिक काठमाडौंमा ५, यतिले काठमाडौंमा ८ र सिम्रिकले ३ उडान गर्दै आएका थिए । यसैगरी जोमसोमका लागि तारा एयरले दैनिक ६ र सिम्रिकले २ उडान गर्दै आएकोमा आइतबारदेखि सबै उडान बन्द भएको पोखरा नागरीक उड्डयन कार्यालयका प्रमुख दिपक बरालले बताए ।  अघिल्लो वर्षको तुलनामा यी उडानहरु निकै कम हुन,  बरालले भने,  त्यहीमाथि इन्धन अभावले अहिले ठप्प बन्न पुग्यो । 
एयरलाइन्सहरुले टेलिफोन सम्पर्कमा रहेकालाई टेलिफोन गरी उडान हुन नसक्ने जानकारी गराएका थिए । तर अनलाईनबाट टिकट लिएकाहरु भने विमानस्थल पुगेर निराश भएर फर्किएका थिए । बिहानैदेखि चहलपहल हुने विमानस्थल हाता सुनसानजस्तै थियो । 
ताराको २ र सिम्रिकको १ जहाज र प्रभु एयरलाईन्सको एक हेलिकोप्टर पार्किङमा थन्किएका छन् । पुतलीजहाज (अल्ट्रालाइट) फाट्टफुट्टरुपमा चलेका छन् । 
सबै उडान बन्द भएपछि धावनमार्गलगायतका स्थानमा मर्मतको काम थालिएको बरालले बताए । ईकान्तिपुरमा समाचार छ ।