चाडपर्वमा हजारौँ पशुपक्षी मारिने गरेको भन्दै मौन व्रत

चाडपर्वको बहानामा बर्सेनि हजाराँै पशुपक्षी मारिने गरेकाले उनीहरुको आत्माले शान्ति पाओस् भन्दै पाँचथरको पुरानो साङ्छ्यो गुम्बा आगेजोङमा बौद्धधर्मावलम्बी ञ्युङ्ने अर्थात् मौन व्रत बसेका छन् । 
 
हिंसकहरुको मनमा बोधिचित्त र करुणा उत्पन्न होस् भन्दै सबै प्राणीको उद्धार एवम् मुक्तिका लागि बौद्ध धर्म दर्शनअनुसार व्रतालुहरु ञ्युङ्ने बस्छन् । 
 
त्यहाँ अहिले सञ्चालन भएको प्रवचनमा सफा र शुद्ध भएर व्रतालुहरु लामा गुरुबाट पञ्चशील, अष्टशील लिन्छन् । आफूले गुरुबाट २४ घन्टा अर्थात् एक दिन शील पाएपछि शील भङ्ग हुन नदिन आठवटा प्रतिज्ञा गर्छन् । काङ्ग्युर ग्रन्थमा भगवान् बुद्धका वाणी ञ्युङ्ने अर्थात् मौन व्रत एकचोटी पालन गर्नाले ४० कल्पको पाप काटिनेछ अनि देव र मनुष्यको उत्तम जन्ममा पाउनेछ भन्ने उल्लेख रहेको लामाहरु बताउँछन् । 
 
ञ्युङ्ने व्रतमा पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा र दार्जिलिङबाट भक्तजन आएको साङ्छ्यो गुम्बा आगेजोङले जनाएको छ । रासस