बाबुराम पक्षको राष्ट्रिय भेला मंसिर ४ मा – सांसदहरु तत्काल एमाओवादीमै रहने

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समूहका नेताहरुले नयाँ शक्ति निर्माणका लागि आगामी मंसिर ४ मा काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएका छन् ।देशभरका प्रतिनिधिहरु सहभागी हुने भेलाले नयाँ शक्ति निर्माण अभियान समिति बनाउने बताइएको छ । डा. भट्टराई समर्थक नेताहरुले डा. भट्टराईलाई नै आयोजक समितिको प्रमुख बनाउने तयारी गरेका छन् ।
अहिले देशभरमा नयाँ शक्ति निर्माण अभियान जिल्ला समितिहरु बनिरहेका छन् । यसका लागि सातै प्रदेशमा संयोजक तोकेर नेताहरुलाई खटाइएको छ । प्रदेश नम्बर १ मा पूर्व सभासद लीला भण्डारी, २ मा रामचन्द्र झा, ३ मा गंगा श्रेष्ठ, ४ मा वामदेव क्षेत्री, ५ मा देवेन्द्र पराजुली र ७ नम्बर प्रदेशमा नवराज सुवेदी खटिएका छन् ।
केही जिल्लामा डा. भट्टराई आफैं पुगेका छन् भने केहीमा प्रदेश इन्चार्ज तथा केहीमा केन्द्रीय स्तरका नेताहरुको सहभागितामा भेला भएको छ ।
नेताहरुका अनुसार यस्ता भेलाहरुमा सहभागीहरुले पार्टी परित्यागको घोषणा गर्ने, नयाँ शक्ति निर्माण अभियान जिल्ला समिति बनाउने र कार्यालय खोल्ने काम गरिरहेको छ ।पार्टीबाट राजीनामा दिएपछि एमाओवादी नेता देवेन्द्र पौडेलले झापा, मोरङ, सुनसरी लगायतका जिल्लाको भ्रमण गरेका छन् ।
एमाओवादीका पूर्ववरिष्ठ नेता डा. बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्ति निर्माण अभियानमा तत्काल सांसदहरु भने नजाने भएका छन् ।एमाओवादीका ४५ जना केन्द्रीय नेताले राजीनामा दिँदा पनि बहालवाला सांसदहरु सहभागी भएनन् । भट्टराई एमाओवादीमा रहँदा उनको पक्षमा टोपबहादुर रायमाझी, प्रभु साहसहितका ४५ सांसद थिए ।
तर, रायमाझी अहिले भट्टराईको पक्षमा छैनन् । उनी सरकारमा पार्टीको नेतृत्व गरेर उपप्रधान एवं उर्जामन्त्री बनेका छन् र उनले सार्वजनिक रुपमा नै भट्टराईको नयाँ शक्ति सफल नहुने दाबी गरेका छन् । प्रभु साहसहितका अन्य सांसद भने अहिले पनि भट्टराईको सम्पर्कमा नै रहेको बताइन्छ । तर, उनीहरुले तत्काल राजीनामा नदिने र एमाओवादीमा नै रहने स्रोतले बतायो ।