दुई प्रदेश बनाइनुपर्ने मधेशी मोर्चाको माग कुनै हालतमा पूरा नगर्ने एमालेका माधव कुमार नेपाल भनाई

नेकपा एमालेका नेता माधव कुमार नेपालले मधेशका जिल्लालाई मात्र समावेश गरेर दुई प्रदेश बनाइनुपर्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको माग कुनै हालतमा पूरा नगर्ने बताएका छन्।
एमाले नेता नेपालले आइतबार प्रेस चौतारीको बाँके शाखाले नेपालगञ्जमा गरेको अन्तर्क्रियामा पहाडका जिल्लालाई अलग गरेर मधेशका जिल्लाको छुट्टै प्रदेश बनाउने माग कुनै हालतमा पूरा नगर्ने बताएका हुन्। उनले मधेशका जिल्ला मधेशवादी दलहरुको बपौती नभएको बताए। उनले मधेशका जिल्लामा मधेशवादी दलहरुले भन्दा एमालेले बढी सीट जितेकाले मधेशवादी दलहरुले भने अनुसार प्रदेशको सीमांकन हेरफेर गर्न आवश्यक नरहेको बताए।
एमाले नेता नेपालले प्रदेशको सीमांकन हेरफेर गर्ने विषय नेपालको आन्तरिक मामिला भएको भन्दै यस विषयमा अनावश्यक चासो नराख्न भारतीय संस्थापन पक्षलाई चेतावनी समेत दिए। उनले भारतको हस्तक्षेपकारी नीतिकै कारण नेपालमा भारतविरोधी भावना बढेको भन्दै संयुक्त राष्ट्रसंघको वडा पत्र र पञ्चशीलको सिद्धान्तका आधारमा नेपालसँग सम्बन्ध राख्न भारत सरकारलाई आग्रह गरे।
नेपालगञ्जका पत्रकारहरुसँगको साक्षात्कारपछि एमाले नेता नेपाल पत्नी गायत्रीलाई साथै लिए जुम्ला प्रस्थान गरेका छन्। सेतोपाटीमा समाचार छ ।