व्यवस्थापिका-संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले तराई-मधेसमा भइरहेको आन्दोलन सम्बोधन गर्न अग्रसरता लिने भएको छ ।
कांग्रेस संसदीय दलको कार्यालयमा आज भएको कांग्रेस पदाधिकारी बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गरी तराई-मधेसको समस्या समाधान गर्ने बारेमा छलफल भएको बैठकमा सहभागी केन्द्रीय सदस्य महेश आचार्यले बताए । तराई-मधेसको समस्या समाधानका लागि संसद्को आगामी बैठकमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने विषयमा वातावरण बनाउन प्रयत्न गछौं, उनले भने ।
समस्या समाधानका लागि कांग्रेसले शनिबार मधेसी मोर्चामा आबद्ध दलका नेतासँग छलफल गरेको जानकारी गराउँदै उनले आन्दोलनका माग सम्बोधन गर्न कांग्रेस शीर्ष नेताले सत्ता पक्षका नेतासँग पनि औपचारिक- अनौपचारिक छलफल गरिरहेको बताए ।
मोर्चाले उठाएको सीमांकनको विषयसम्बन्धी विषयमा पनि व्यापक राजनीतिक सहमति जुटाउने प्रक्रियाको नेतृत्व कांग्रेसले गर्नुपर्छ भन्ने बारेमा छलफल भएको र त्यसका लागि अन्य पार्टीसँग पनि छलफल गरेर संविधान संशोधनको प्रस्ताव अघि बढाइने केन्द्रीय सदस्य आचार्यको धारणा थियो । कांग्रेसका शीर्ष नेताले आजै सत्ता पक्षका दलका नेतासँग छलफल गर्दै छन् ।
बैठकमा कांग्रेसको १३औँ महाधिवेशनको तयारीका बारेमा समेत छलफल भएको उनले बताए । कांग्रेस पदाधिकारीले आजै महाधिवेशन तयारीका लागि गठित समितिका संयोजकसँग छलफल गरी तयारीका बारेमा जानकारी लिने बताइएको छ ।
ईकान्तिपुरमा समाचार छ ।