हाल नेपालमा २३ जिल्लामा व्यवसायिक रुपमा कफी खेती

गुणस्तरीय कफी नर्सरी-उत्पादनको आधार, आयात प्रतिस्थानलाई यसले पार्छ साकार भन्ने नाराका साथ ११औं कफी दिवस मनाउन लागिएको छ ।
मंगलबार मनाइने उक्त दिवसको सन्दर्भमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सोमबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा कफीको माग र उत्पादनमा ठूलो खाडल रहेकाले उत्पादन बृद्धिमा जोड दिनुपर्ने बताइयो ।
यो वर्ष कफी उत्पादन वर्षको रुपमा मनाउन लागेको पनि जानकारी दिइयो ।
बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले उत्पादन बृद्धिका लागि गुणस्तरीय नर्सरीमा जोड दिनुपर्ने बताए ।
हाल नेपालमा मध्यपहाडी भेगका ४१ जिल्लामा कफी खेती गरिएको र तीमध्ये २३ जिल्लामा व्यवसायिक रुपमा कफी खेती गरिएको बताइएको छ ।
यो वर्ष दुई हजार तीन सय ८१ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको र यो गत वर्षको तुलनामा २४ प्रतिशतले बढी भएको पनि जानकारी दिइयो । – इमेजखबरमा समाचार छ ।