मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज नजिकै भारतीय सीमामा सयौँको सङ्ख्यामा औषधि र औषधिजन्य कच्चा पदार्थ बोकेका मालबाहक गाडी थन्किएका छन् ।
औषधिको आयातमा आएको रोकावटका कारण यस क्षेत्रमा अत्यावश्यक औषधिको अभाव समेत हुन थालेको छ ।
भारतबाट औषधि र औषधिजन्य कच्चा पदार्थ लिएर वीरगन्ज नाकामा आइपुगेका मालबाहक गाडी मधेसकेन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाका जामका कारण गन्तव्यसम्म पुग्न नपाएपछि भारतीय सीमामा नै थन्किएका हुन् ।
औषधिको आयात हुन नसकेपछि अहिले शल्यक्रिया तथा मुटुरोगसम्बन्धी औषधिको अभाव सुरु भएको छ । शल्यक्रिया गर्दा प्रयोग हुने उपकरण, स्लाइन तथा हृदयाघात हुँदा प्रयोग हुने औषधि तथा अक्सिजनको अभाव भएको व्यवसायी बताउँछन् ।