उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई गृहजिल्ला बागलुङमा अभिनन्दन

उपप्रधान तथा सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीलाई उनको गृहजिल्ला बागलुङमा अभिनन्दन गरिएको छ । 
उनको जन्मस्थान जिल्लाको गलकोटमा आयोजित विशेष समारोहमा शनिबार उपप्रम केसीलाई अभिनन्दन गरिएको हो ।
उनी प्रधानाध्यापक भई सेवा गरेको तत्कालीन गलकोट माध्यमिक विद्यालय अहिलेको गलकोट उच्च माविले उपप्रम केसीको सम्मानमा अभिनन्दन समारोह गरेको थियो ।
सो अवसरमा उच्च माविका अध्यक्ष गुमानसिंह भण्डारी, प्राचार्य देवेन्द्र खत्रीलगायतले उपप्रधानमन्त्री केसीलाई अभिनन्दन गरेका थिए । कार्यक्रममा सहभागी शिक्षक, प्राध्यापक, सामाजिक अगुवा, शिक्षाप्रेमीलगायत सर्वसाधारणले समेत केसीलाई बधाई तथा शुभकामना दिएका थिए । उपप्रम केसीले गलकोट माध्यमिक विद्यालय हुँदा २०२५ सालमा प्रधानाध्यापक भई सेवा गरेका थिए ।
गलकोटको मल्ममा जन्मी नेपाली राजनीतिको शीर्ष स्थानमा पुग्नुभएका केसीलाई यस क्षेत्रमा शैक्षिक जागरण फैलाउने व्यक्तिको श्रेय पनि दिने गरिएको छ । उनी लामो समयसम्म शिक्षण पेसामा संलग्न थिए । केसी उपप्रम हुनु जिल्लाकै गौरवको विषय भएकाले उनको सम्मानमा अभिनन्दन समारोह राखिएको उच्च माविका प्राचार्य देवेन्द्र खत्रीले बताए ।
उनी बागलुङ जिल्लामात्र नभई धवलागिरि अञ्चलबाटै सरकारको उपल्लो पदमा पुग्ने पहिलो व्यक्ति हुन। उनप् हाम्रो गुरु पनि हुन, गलकोट क्षेत्रको शैक्षिक विकास र जागरणमा उनको ठूलो योगदान छ प्राचार्य खत्रीले भने- हाम्रो क्षेत्रले उनलाई उपप्रधानमन्त्रीका रुपमा पाउनु ठूलो गौरवको विषय हो, सफलता हो । गृहजिल्ला आएका बेला उपप्रम केसी विभिन्न कार्यक्रममा सरिक भइरहेका छन् ।
अभिनन्दनपछि उपप्रम केसीले शनिबार नै गलकोट बहुमुखी क्याम्पसमा बनेको स्मृति कक्षको उद्घाटन गरे । उनलाई ठाउँठाउँमा स्थानीयवासीले बधाई र सम्मान दिएका थिए ।
गलकोटमा आयोजित अभिनन्दन समारोहमा बोल्दै केसीले मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिएका थिए । उनले कुनै पनि सर्त या मूल्यमा राष्ट्रियता साट्न नसकिने बताए । उपप्रम केसीले मुलुकको राष्ट्रियता, अखण्डता र स्वाधीनताका विषयमा कसैसँग सम्झौता नहुने प्रष्ट पारे । इमेजखबरमा समाचार छ ।