एसएसबीका जवानहरुले नेपालमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा सुनसरीमा चारजना नेपाली गम्भीर घाइते

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरुले नेपालमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा सुनसरीमा चारजना नेपाली गम्भीर घाइते भएका छन् ।
नेपाल-भारत सीमाको भन्टाबारीस्थित हरिपुर गाविस-७ मा भारतबाट आएका करिब १० जना जवानले अन्धाधुन्ध गोली चलाएका हुन् ।
घाइते हुनेमा हरिपुर गाविसका अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव रहेका छन् ।
अशोकको पेटमा गोली लागेको छ भने अन्यको ढाड र शरीरका विभिन्न भागमा गोली लागेको छ ।
भारतीय बजार वीरपुरबाट अवैधरुपमा मल लिएर आएका ७ जनाको संख्यामा रहेका भारतीय  तस्कर हरुले सीमा क्षेत्रमा सुरक्षामा खटिएका दुईजना जवानमाथि हातपात गरी नेपालतर्फ भागेका थिए ।
घटनालगत्तै एसएसबीको टोलीले गाउँमै प्रवेश गरी घरमा र खेतमा काम गरिरहेकामाथि अन्धाधुन्ध गोली प्रहार गरेको हो ।
घाइते सबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।