भारतको अघोषित नाकाबन्दीका कारण काभ्रेपलाञ्चोक जिल्लामा पनि औषधिको अभाव हुन थालेको छ ।
जिल्लाको दुर्गम गाविस महाभारत शृङ्खलापारी र कोसीपारीका विभिन्न गाविसका स्वास्थ्य संस्थामा औषधिको अभावले सेवाग्राही मर्कामा पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
विभिन्न एन्टिबायोटीक, सिटामोल, डाइजीन, जीवनजललगायत औषधि अभाव भइसकेको छ, जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका अधिकृत नारायण केसीले भने ।
उनले झण्डै दुई सातादेखि जिल्लामा रहेका झण्डै १०० स्वास्थ्य संस्थामा औषधिको अभाव भएको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयलाई समेत पत्राचार गरिएको बताए ।
जिल्ला स्वास्थ्य कार्यालयबाट अहिले करिब ४० किसिमका औषधिको वितरण भएको उल्लेख गर्दै उनले भने, स्वास्थ्य संस्थाबाट औषधि माग भइरहेको छ, तर हामीले दिन सकिरहेका छैनौँ ।
धुलिखेल अस्पतालका प्रशासकीय प्रमुख डा राजेन्द्र कोजुले पनि अस्पतालमा औषधि अभाव हुन थालेको बताए । (रासस)