नवलपरासीस्थित रेडियो परासीको कार्यालयमा पेट्रोल बम प्रहार भएको छ ।
सदरमुकाम परासीस्थित रेडियो परासीको कार्यालयमा बुधबार राति अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको हो । त्यो समूहले कार्यालय परिसरभित्रै राखिएको एउटा मोटरसाइकलमासमेत आगजनी गरेको छ ।
समाचारको विषयलाई लिएर टेलिफोनमाफर्त् धम्काउँदै आएका व्यक्तिहरुले पेट्रोल बम प्रहार गरी मोटरसाइलमा आगजनी गरेको रेडियोका प्रबन्धक मेघराज गौतमले जानकारी दिए ।
प्रबन्धक गौतमले भारतले नाकाबन्दी नै नगरेको अवस्थामा पनि त्यसलाई प्राथमिकताका साथ समाचार प्रसारण गर्ने गरेको तर कालोबजारी भइरहेको समाचार प्रसारण नगरेको भन्दै धम्की आएको बताए ।
सन्चारमाध्यममा आक्रमण भएपछि सुरक्षाको माग गर्दै रेडियोको प्रसारण अनिश्चितकालका लागि बन्द गरिएको छ ।
यसैबीच, नेपाल पत्रकार महासंघले घटनाको निन्दा गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न र सन्चारमाध्यम र सन्चारकर्मीको सुरक्षा प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघका केन्द्रीय अध्यक्षले स्थानीय प्रमुख जिल्ला अधिकारीसँग कुरा गरी घटनाको अनुसन्धान गर्न, दोषीलाई कानुनी कारबाही गर्न र रेडियोको प्रसारण नियमित गराउन सुरक्षाको वातावरण बनाउन आग्रह गरेको महासंघ नवलपरासी शाखाले जनाएको छ । इमेजखबरमा समाचार छ ।