गृहमन्त्री बस्नेतद्धारा भारतसामू कुनै पनि हालतमा सरकार नझुक्ने प्रतिबद्धता

 गृहमन्त्री शक्तिबहादुर बस्नेतले भारतसामू कुनै पनि हालतमा सरकार नझुक्ने प्रतिबद्धता जनाएका छन् ।
सुनसरीको पकलीमा आयोजित पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठकपछि सञ्चारकर्मीहरुसँग मन्त्री बस्नेतले सरकार देश र जनताको सुरक्षाका लागि नयाँ रणनीतिका साथ अघि बढ्ने बताए ।
अघोषित नाकाबन्दी गर्दै आएको भारतको सीमा सुरक्षा बल एसएसबीले सीमा क्षेत्रमा नेपालीहरुमाथि ज्यादती गरिरहेको भन्दै उनले नेपालविरुद्ध गल्ती ढाकछोप गर्न जथाभावी अभिब्यक्ति नदिन पनि भारतीय अधिकारीहरुलाई चेतावनी दिए ।
देशको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्तामा आँच आउन नदिन सरकार प्रतिबद्ध रहेको भन्दै गृहमन्त्री बस्नेतले देश र जनताको सुरक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्ने बताए ।
सरकार राजमार्गमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउने र यातायातका साधन आवतजावत गराउने वातावरण मिलाउने काममा जुटेको भन्दै उनले नाकाबन्दी खुलाउन कूटनीतिक तवरले पहल भइरहेको उल्लेख गरे ।
तीन महिनादेखि तराईका विभिन्न जिल्लाहरुमा भईरहेको बन्द हड्ताल, भारतको नाकाबन्दी, कालोबजारी नियन्त्रण तथा समग्र तराइ क्षेत्रको सुरक्षा रणनीति बनाउन आज सुरक्षा अधिकारीहरुको बैठकमा बसेको थियो ।
बैठकमा गृहमन्त्री बस्नेत, गृहसचिव नारायणगोपाल मलेगो, नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका प्रमुख कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, नेपाली सेनाका पूर्वी पृतना प्रमुख हरिबहादुर बस्नेत, पूर्वाञ्चलका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको सहभागिता रहेको थियो । इमेजखबरमा समाचार छ ।