मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनद्धारा कांग्रेसको बिरोध गर्दै जनकपुरमा प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनले नेपाली कांग्रेसको बिरोध गर्दै जनकपुरमा प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेसले मधेस आन्दोलनको समर्थनमा झण्डासहित सोमबार जनकपुरमा जुलुस निकाल्ने भएपछि मधेसमा आन्दोलनरत पक्षले बिरोध गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले कांग्रेसले झण्डासहित प्रदर्शन गर्दा आफ्नो आन्दोलन ओझेलमा पर्ने भन्दै बिना झन्डा आन्दोलनका सहभागी हुन आह्वान गरेका छन् ।
तराइ मधेस लोकतान्त्रिक पार्टी धनुषाका अध्यक्ष परमेश्वर साहले १ सय दिनभन्दा बढी समयदेखि मधेस बन्द गरेर आन्दोलन गर्दा मौन बसेका कांग्रेसीहरु आन्दोलनलाई बिथोल्न समर्थनको नाउँमा नाटक गरेकाले नै आफूहरुले बिरोध गरेको बताए ।
नेपाली कांग्रेसले जनकपुरको गोपाल धर्मशालाबाट जलुस निकाल्ने निर्णय गरेपछि धर्मशालाको चारैतिर संयुक्त युवा संघर्ष, मधेश अधिकार संघर्ष समिति, मधेस क्रान्ति संघर्ष समितिका कार्यकर्ताले घेरा हालेका छन् ।
यता गोपाल धर्मशालालाई घेरा हाल्ने निर्णय भएपछि नेपाली कांग्रेस धनुषाले पार्टी कार्यालयबाटै जुलुश निकाल्ने भएको छ ।
 नेपाली कांग्रेसको जुलुश र जुलुशको प्रतिकार गर्ने निर्णयका कारण जनकपुरको अवस्था अहिले तनावग्रस्त रहेको छ ।
कांग्रेस धनुषाको नेतृत्वमा आज जनकपुरको पार्टी कार्यालयबाट मधेस आन्दोलनको समर्थन गर्दै जुलुस निकाल्ने जनाएको थियो । इमेजखबरमा समाचार छ ।