भारतीय राजदुत रणजित रायलाई देश निकाला गर्नुपर्ने माग

व्यवस्थापिका-संसदमा नेपालका लागि भारतीय राजदुत रणजित रायलाई देश निकाला गर्नुपर्ने आवाज उठेको छ । व्यवस्थापिका-संसदको आजको बैठकमा नेपाल मजदुर किसान पार्टीले भारतीय राजदुतलाई स्वदेश फिर्ता पठाउन माग गरेको हो ।
आफ्नै स्थानबाट नाराबाजी गर्दै नेमकिपाका सांसदहरुले भारतविरुद्ध चर्को नाराबाजी समेत गरेका हुन् । नेमकिपाका सांसदहरुले देश बिखण्डन गर्न खोज्नेहरुलाई देशद्रोहको मुद्दा लगाउनसमेत माग गरेका छन् ।
उनिहरुले भारतीय नाकाबन्दी तत्काल फिर्ता गर्न माग गर्दै भारतीय हस्तक्षेपको चर्को बिरोध गरे ।
यसैबीच संसदको बैठक चल्न नदिइकन नारबाजी गर्दै बेल घेराउ गरेको मधेसी मोर्चाले तराई-मधेसमा सेना परिचालन नगरी वार्ता गर्न माग गरेको छ । मोर्चाका सांसदहरुले नाराबाजी गर्दै सेना लगाएर समाधान नहुने भन्दै बार्ताबाटै समाधान खोज्न आग्रह गरे ।
उनीहरुले तराई मधेसमा भएको आन्दोलनमा दमन बन्द गर भन्ने नारासमेत लगाएका थिए । मधेस थारुहट प्रदेशको घोषणा गर्न उनीहरुले माग गरेका थिए ।
कांग्रेस सांसदलाई मोर्चाले बोल्न दिएन
संसद बैठकको सुरुमा प्रमुख प्रतपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चाका सांसदहरु आफ्ना स्थानबाट उठेका थिए । सुरुमा सभामुख ओनसरी घर्तीले नेपाली कांग्रेसका सांसद फरमुल्लाह मन्सुरलाई बोल्न समय दिएकी थिइन । तर मोर्चाका सांसदहरुले मन्सुरलाई बोल्न नदिइकन नाराबाजी गरेका थिए ।
नाराबाजीमा बित्यो आधा घण्टा
सभामुख ओनसरी घर्तीले पटक-पटक आग्रह गर्दा पनि मोर्चाका सांसदहरुले नाराबाजी गरिरहेका थिए । मोर्चाका सांसदहरुले बेल घेरेर नाराबाजी गरिरहँदा नेमकिपाका सांसदहरुले आफ्नै स्थानबाट उठेर नाराबाजी गरेका थिए । झण्डै आधाघण्टा दोहोरो नाराबाजी भएपछि बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । इमेजखबरमा समाचार छ ।