एमाले तराई-मधेसका माग सम्बोधन गर्न संविधान संशोधन विधेयकलाई अघि बढाउन तयार

नेकपा एमाले तराई-मधेसका माग सम्बोधन गर्न सुशील कोइराला नेतृत्वको सरकारले अघि सारेको संविधान संशोधन विधेयकलाई अघि बढाउन तयार भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले स्थायी कमिटीको बैठकले तराई-मधेसमा देखिएको समस्यालाई समाधान गर्न पूर्ववर्ती सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकको प्रक्रियालाई अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
एमालेले प्रदेशको सीमांकन सम्बन्धमा उठिरहेका विभिन्न आवाजहरु र मान्यतालाई समाधान गर्नको लागि सर्वदलीय राजनीतिक समिति निर्माण गरी अघि बढ्ने निर्णय गरेको छ ।
बैठकले सीमामा भएको भारतीयनाकाबन्दीकाकारण दैनिकजनजीवनमा परेको कठिनाइ र समस्यालाई सहज बनाउन तीव्र गतिले वैकल्पिक विकल्पहरु अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
वर्तमान परिस्थितिको बारेमा छिमेकी मित्रराष्ट्रहरुलगायत अन्तर्राष्ट्रिय समुदायसँग प्रभावकारी कुटनीतिक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गरेको छ ।
बैठकले संविधानको कार्यान्वयन तथा संविधान निर्माण पश्चात उत्पन्न परिस्थितिका सन्दर्भमा मंसिर २१ र २२ गते चितवनमा पार्टीको विशेष राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, तराई-मधेसमा देखा परेको समस्या, सीमा क्षेत्रको नाकाबन्दीलगायतका विषयमा छलफल भएको थियो । – इमेजखबरमा समाचार छ ।