प्रधानमन्त्री ओलीले संविधानको रक्षा र कार्यान्वयन वर्तमान सरकारको मुख्य कार्यभार भएको उल्लेख

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा र कार्यान्वयन वर्तमान सरकारको मुख्य कार्यभार भएको बताएका छन् ।
किमाथांका विराटनगर यातायात तथा विकास सरोकार समितिले शनिबार वालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले  संविधान कार्यान्वयनसँगै मुलुकको आर्थिक विकासलाई तिव्रता दिने र उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेतर्फ सरकार तदारुकताका साथ लाग्ने बताए ।
प्रधानमन्त्री ओलीले सरकारप्रति कुनै पनि राजनीतिक आग्रह तथा पूर्वाग्रह नराख्न आग्रह गरे । उनले मुलुक आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढिरहेको भन्दै यसका लागि संयुक्त र साझा प्रयास जरुरी भएको बताए ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले पूर्वपश्चिम राजमार्गलाई ४ देखि ८ लाइनसम्म स्तरोन्नति गर्ने र पूर्वाधारको विकासमा सरकारले गृहकार्य सुरु गरिसकेको जानकारी दिए ।
उनले संखुवासभाको किमाथांकादेखि विराटनगरसम्मको बाटो सहज र विस्तारको सम्भाव्यता अध्ययन गर्न केही दिनमै प्राविधिकसहितको सरकारी अनुगमन टोली पठाउने तयारी भइरहेको बताए । इमेजखबरमा समाचार छ ।