ग्यास र उपभोग्य वस्तुको अभाव हुँदा घर व्यवहार चलाउनुपर्ने समस्या परेको भन्दै गृहिणी महिला सडकमा

लामो समयसम्म खाना पकाउन ग्यास र उपभोग्य वस्तुको अभाव हुँदा घर व्यवहार चलाउनुपर्ने समस्या परेको भन्दै गृहिणी महिला सडकमा उत्रिएका छन् ।
शनिबार गृहिणी महिला सङ्घले आयोजनामा माइतीघर मण्डलामा भेला भएका महिलाले समस्या सहज हुन्छ भन्दै लामो समय बितेकाले सरकार र आन्दोलनरत दललाई दबाब दिन सडकमा आउनुपरेको बताएका छन् ।
धापासीबाट दबाब र्‍यालीमा सहभागी हुन आएकी ६० वर्षीया सीतादेवी श्रेष्ठले लामो समयदेखि ग्यास नपाउँदा परिवारका सदस्यलाई के खुवाउने, कसरी सामानको जोरजाम गर्ने भन्ने विषयले दिनरात सताउने बताइन। अर्की ६६ वर्षीया रीतादेवी सापकोटाले आवश्यक उपभोग्य सामग्री सहजीकरण गरी उपभोग्य वस्तुमा बढेको कालोबजारी रोक्न सरकारलाई आग्रह गरिन ।
खाद्यान्न, नुन तेलको मूल्य आकासिदै गएकाले भान्छा चलाउन समस्या परेको भन्दै गृहिणी महिला सङ्घको आयोजनामा आज १५ महिला समूहबाट माइती घर मण्डलामा भेला भएका महिलाले माइती घर मण्डलालाई एकै साङ्लोमा घेरेका थिए ।
दबाब कार्यक्रममा सहभागी शङ्खमूलकी विपना रेग्मीले बजारमा कालोबजारी बढेकोप्रति सरकार चुप लागेर बसेको र यसलाई नियन्त्रण गर्न केही कार्यक्रम नगरेकाले र्‍यालीमा आएको बताइन । उनले गृहिणीलाई घरमा खाना पकाउने ग्यास नहुँदा बच्चालाई भोकै विद्यालय पठाउनु परेको गुनासो गरिन ।
गृहिणी महिला सङ्घकी अध्यक्ष विज्ञा तिमिल्सनाले अभाव भएको लामो समय बित्दा पनि सरकारले अत्यावश्यक वस्तुको सहजीकरण नभएकाले दबाब र्‍याली आयोजना गरेको बताइन। उनले भारतले गरेको अघोषित नाकाबन्दी र तराईमा जारी आन्दोलनका कारण सबैतिर प्रभाव परे पनि सबैको ख्याल गर्ने महिलालाई घर चलाउन नै मुस्किल परेको बताइन ।
सरकारले इन्धनलगायतको सहज व्यवस्था तत्काल नगरे दबाबको कार्यक्रम बढाएर लाने बताउँदै आइतबार नै राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने जानकारी दिइन । रासस