व्यवस्थापिका-संसदको आजको बैठक पनि अवरुद्ध भएको छ । सभामुख ओनसरी घर्तीले बैठक सुरु भएको घोषणा गर्नासाथ आन्दोलनरत मधेसी मोर्चाका सांसदहरु आफ्ना स्थानबाट उठेका थिए ।
सभामुख घर्तीले बोल्नका लागि समय दिने आश्वासन दिएपछि मोर्चाका सांसदहरु आफ्ना स्थानमा बसेका थिए । तर सभामुख घर्तीले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापालाई बोल्नका लागि समय दिएपछि मोर्चाका सांसदहरुले नाराबाजी गर्दै बेल घेरेका थिए ।
मोर्चाका सांसदहरुले तराई-मधेसको आन्दोलनमा दमन गरेको भन्दै सरकारका बिरुद्ध कडा नाराबाजी गरेका थिए ।
नेपाल मजदुर किसान पार्टीका सांसदहरुले आज पनि आफ्ना स्थानबाट उठेर भारतीय नाकाबन्दीका बिरुद्ध नाराबाजी गरेका थिए । सभामुखले पटक-पटक बैठक अबरुद्ध नगर्न आग्रह गरे पनि मोर्चाका सांसदहरुले यसलाई बेवास्ता गरेका थिए ।
नाराबाजीका कारण स्थगित भएको संसदको अर्को बैठक मंसिर २४ गतेका लागि आह्वान गरिएको छ । इमेजखबरमा समाचार छ ।