कम्युनिष्टमाथि परम्परागत आरोप छ- ढोंगी हुन्छन्, जडसुत्रवादी हुन्छन्…..। अरुपनि त्यस्ता धेरै आरोप छन् कम्युनिष्टमाथि ।
ती आरोप नेपालका कम्युनिष्ट नेतामाथि नलाग्ने कुरै भएन । काठमाडौंमा आइतबार भएको एक कार्यक्रममा पुराना कम्युनिष्ट नेता मोहनविक्रम सिंहको भूमिकामा कतिपय उपस्थित कार्यकर्ताले टिप्पणी गरिरहेका थिए । ईकान्तिपुरमा समाचार छ ।
प्युठानी पुराना कम्युनिष्ट नेता खगुलाल गुरुङको अभिनन्दन समारोहका संयोजक मोहनविक्रम सिंह नै उपस्थित कार्यकर्ता र शुभेच्छुकबीच देखिएनन् । पर्यटन बोर्डको एक कुनामा बसेका मोहनविक्रम कार्यक्रम सुरु हुँदा पनि मञ्चतिर देखिएनन् ।
कार्यक्रममा प्रमुख अथिति थिए एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली । विशेष अथिति एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै उपप्रधानमन्त्रीहरु सीपी मैनाली, चित्रबहादुर केसीलगायत । विभिन्न साना ठूला कम्युनिष्ट घटका दुई दर्जन शीर्ष नेता कार्यक्रममा थिए ।
खगुलालको जीवनचित्र मोहनविक्रमले तयार पारेका रहेनछन् । तर, पढेर सुनाएर जनमोर्चा अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री केसीले । त्यहाँ कार्यक्रम सञ्चालन गरिरहेका एमाले युवा नेता सूर्य थापाले भनिरहेका थिए, उहाँ प्राविधिकरुपमा देखिन मिलेन, तर यतै कतै हुनुहुन्छ ।
मोहनविक्रम भने कार्यकर्ताले घेरिएर दायाँपट्टिको पछाडिको कुनामा बसेका थिए । चित्रबहादुर केसीले खगुलालको जीवनचित्र सुनाएपछि बोल्ने पालो आयो प्रमुख अतिथि केपी शर्मा ओलीको ।
ओलीले खगुलालको संघर्ष, नेपालको कम्युनिष्ट आन्दोलनलाई संक्षिप्त ब्याख्या गर्दै कम्युनिष्टहरुको चरित्रको तीखो टिप्पणी गर्न भ्याए । उनको बोलीको तिर कार्यक्रमको सभापतित्व गरेका माओवादी नेता मोहन वैद्य र अर्धभूमिगत नेता मोहनविक्रम सिंहतिर पनि सोझियो । कोही कम्युनिष्ट सरकारमै नजाने भनेर बसेका छन्, वैद्यलक्षित गर्दै उनले भने, कम्युनिष्ट भनेकै सरकारमा गएर राम्रो सरकार चलाएर देखाउने हो, किन नजाने ?
वैद्यलाई हानेको तिरले नै प्रधानमन्त्री ओलीले मोहनविक्रम सिंहतिर पनि तेर्स्याए । मोहनविक्रमजी यतै कतै हुनुहुन्छ, मैले देखेको छु, तर उ त्यहाँ हुनुहुन्छ भनेर देखाउन मिल्दैन, अर्धभूमिगत नेता मोहनविक्रमलाई ओलीले भने, बाहिरन निस्कनुस्, कसैले समाउँदा पनि समाउँदैन, केही गर्दैन, म देशको प्रधानमन्त्रीकोरुपमा भन्दैछु ।
ओलीको भाषणमा सुरुदेखि नै हंसिलो अनुहार भएर चाखपूर्वक सुनेका मोहनविक्रमको अनुहार एकाएक कालो देखियो । तर ओलीले भन्दैथिए, उहाँ डरले होइन, धर्मले बाहिर आउन नसक्नुभएको हो । उहाँको पार्टीको निर्णय छ बाहिर नदेखिने, मैले त्यहाँ देखें नि भन्ने मिल्दैन ।
ओलीले फेरि थामथुम पारे, यति राम्रो कार्यक्रम संयोजन गर्ने मान्छे, हामीलाई बाटो देखाउने मान्छे यहाँ हुनुहुन्न, केही हुँदैन, पत्रकारले अलि दु:ख दिन्छन् है, बाँकी केही हुँदैन । पार्टीको निर्णय भन्दै मोहनविक्रम सिंह अझै अर्धभूमिगत छन् ।
ओलीले कम्युनिष्ट आन्दोलन हाकाहाकीको आन्दोलन भएको बताए । उनले भूमिगतकालमा सीपी मैनाली, विष्णु पौडेलहरु जेलब्रेक गरेर भागे पनि आफूले भाग्नेभन्दा भिड्ने नीति लिएको बताए । ओलीले १४ वर्ष जेल जीवन बिताएका थिए ।
प्रधानमन्त्री ओलीले सबै कम्युनिष्टबीच एकता हुने हो भने नेपालका अर्को कुनै शक्तिको केही नचल्ने बताए । त्यसका लागि म सबैभन्दा ठूलो कम्युनिष्ट शक्तिको अध्यक्षकोरुपमा के त्याग गर्नुपर्छ गर्छु, उनले भने ।
खगुलाललाई सम्मान
कार्यक्रममा प्रधानमन्त्री ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले उपाध्यक्ष वामदेव गौतमलगायतका आधा दर्जन कम्युनिष्ट घटकका नेताले गुरुङलाई अभिनन्दन गरे ।
९८ वर्षीय गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुादा २०१० साल मंसिरमा ७ जनामध्ये एक संस्थापक सदस्य हुन् । उनी २०१५ सालको आम निर्वाचनमा ८३ नं क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार थिए ।
उपचारको सिलसिलामा काठमाडौंमा रहेकाबेला उनलाई अभिनन्दन गरिएको एमाले केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । गुरुङलाई सम्मान गर्न नेकपा (मसाल)का महामन्त्री मोहनबिक्रम सिंहको संयोजकत्वमा हाल ३७ सदस्यीय मूल आयोजक समिति गठन गरेको थियो । ईकान्तिपुरमा समाचार छ ।