एकीकृत माओवादीले भूकम्प पीडितको नाममा आफन्त, नातागोता तथा गैर भूकम्प पीडितलाई चीन भ्रमणमा पठाउने निर्णय गर्ने गृहमन्त्री शक्ति बस्नेतसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
काठमाडौंको कोटेश्वरस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले गृहमन्त्री बस्नेतको निर्णयले पार्टीकै बद्नाम भएको भन्दै उनीसँग स्पष्टीकरण सोध्न माग गरेपछि एमाओवादीले बस्नेतसँग स्पष्टीकरण सोध्ने तयारी गरेको हो ।
जारी केन्द्रीय समिति बैठकमा सोमबार धारणा राख्ने पालो परेका गृहमन्त्री बस्नेतले चित्तबुझ्दो जवाफ नदिए उनीसँग स्पष्टीकरण सोध्न सकिने प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । स्पष्टीकरण पनि चित्तबुझ्दो नआए उनीलाई पार्टीले कारबाही गर्न सक्ने प्रवक्ता शर्माको भनाई छ ।
गृहमन्त्री बस्नेतले भूकम्पपीडितको कोटामा गैर भूकम्पपीडित र आफ्ना नातेदारलाई चीन भ्रमणमा पठाएपछि पार्टीभित्र र बाहिर त्यसको चर्को आलोचना हुँदै आएको छ ।
यही विषयमा छलफल गर्न एमाओवादीले हिजो आकस्मिक रुपमा आह्वान गरेको स्थायी समिति बैठकमा गृहमन्त्री बस्नेतले सचिवालयले चीन भ्रमण गर्नेहरुको सूची तयार गरेको भन्दै गल्ती भएको स्वीकार गरेका थिए ।
केन्द्रीय समितिमा बोल्ने केही सदस्यहरुले गृहमन्त्रीलाई फिर्ता बोलाउनुपर्ने धारणा पनि राखेका थिए । इमेजखबरमा समाचार छ ।