भूकम्पपीडित कोटामा आफन्त र पार्टी कार्यकर्ताहरुलाई चीन भ्रमणमा पठाएपछि गृहमन्त्री बस्नेतको चौतर्फी आलोचना

भूकम्पपीडितहरुलाई आएको कोटामा आफन्त र पार्टी कार्यकर्ताहरुलाई चीन भ्रमणमा पठाएपछि चौतर्फी आलोचना खेपिरहेका गृहमन्त्री शक्ति बस्नेतले आफ्नो गल्ती स्वीकारेका छन् ।
एकीकृत माओवादीको केन्द्रीय समितिको सोमबारको बैठकमा गृहमन्त्री बस्नेतले भूकम्पपीडितको कोटामा नातागोता र कार्यकर्ता पठाएर आफूले गल्ती गरेको भन्दै आत्मालोचना गरेका छन् ।
बस्नेतको आत्मालोचनासँगै सो विषयमा अब केन्द्रीय समिति बैठकमा थप छलफल नगर्ने सहमतिसमेत बनेको पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।
बैठकमा गृहमन्त्रीको कामको कडा आलोचना गर्दै केन्द्रीय सदस्यहरुले उनलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने माग गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले सोमबारको बैठकमा उपस्थित भइ प्रष्टीकरण दिन निर्देशन दिएका थिए ।
गत मंसिर १५ गतेदेखि सुरु भएको बैठकमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि अहिलेसम्म आधादजर्नभन्दा बढी केन्द्रीय सदस्यले केही फरक मतसहित लिखित प्रस्ताव पेश गरेका छन् ।
एमाओवादी केन्द्रीय समिति बैठक पुस ४ गते सम्मको लागि स्थगित भएको छ । इमेजखबरमा समाचार छ ।