किसानहरुलाई उखुको पेश्की रकम उपलब्ध गराउने सहमति भएपछि नवलपरासीका चिनी उद्योगहरु सन्चालनमा

किसानहरुलाई उखुको पेश्की रकम उपलब्ध गराउने सहमति भएपछि नवलपरासीका चिनी उद्योगहरु आगामी सोमबारदेखि सन्चालन हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालयको रोहबरमा शुक्रबार परासीमा उद्योगी र किसानबीच भएको छलफलमा प्रतिक्विन्टल ३ सय रुपैयाँका दरले पेश्की रकम उपलव्ध गराउने सहमति भएको हो ।
बाँकी रकम भने सरकारले मूल्य निर्धारण गरेको आधारमा क्रमशः भुक्तानी गर्दै जाने सहमतिसमेत भएको छ । गत वर्षको पूरा भुक्तानी नपाएका किसानहरुले यस वर्ष रकम नतोकेसम्म उद्योगहरुलाई उखु उपलब्ध नगराउने अडान लिएका थिए ।
उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष यादवका अनुसार उखु उपलब्ध गराएको १० दिनभित्र उद्योगीहरुले किसानलाई पेश्की रकम भुक्तानी गर्ने सहमति भएको छ ।
त्यस्तै, गत वर्षको बक्यौता रकम पुसको अन्तिम सातासम्म भुक्तानी गराउन पनि उद्योगहरु सहमत भएका छन् । तीनओटा उद्योगहरुले गत वर्षको १९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
बाग्मती चिनी मिलले ११ करोड, इन्दिराले ५ करोड र लुम्बिनी चिनी मिलले ३ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी छ ।
सरकारले गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ४ सय ६१ रुपैयाँ निर्धारण गरेको थियो । चिनीमा पाउने २५ रुपैयाँ भ्याट फिर्ताबापतको अनुदान सरकारले नदिएको भन्दै उद्योगहरुले किसानहरुलाई ४ सय ३६ रुपैयाँ मात्रै दिँदै आएका छन् । इमेजखबरमा समाचार छ ।