मधेसी मोर्चाका चार नेतालाई राज्यद्रोहको मुद्दा लगाई कारबाही गर्न एमाले युवा संघको माग

सत्तारुढ एमालेको भातृ संगठन युवा संघले आन्दोलनरत मधेसी मोर्चाका चार शीर्ष नेतालाई राज्यद्रोहको मुद्दा लगाई कारबाही गर्न माग गरेको छ । राज्यलाई कमजोर बनाउने र राज्यविरुद्ध नै उनीहरुका गतिविधि केन्द्रित भएको भन्दै युवा संघले संघीय फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो र तमसपा अध्यक्ष महेन्द्र राय यादवलाई कारबाही गर्न माग गरेको हो ।
संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनका नाममा भएका गतिविधिले अब हद नाघेको टिप्पणी गरेको छ । मधेसी दलहरुका माग नै मधेस विरोधी खालका छन्, संघका अध्यक्ष राजीव पहारीले भने, आन्दोलन राज्यविरुद्ध केन्द्रित भएकाले चारजना नेतालाई राज्यद्रोहको मुद्दा लगाई आजीबन कारावासको व्यवस्था हुनुपर्छ ।
मुलुकलाई नै समस्यामा पार्ने खोज्नेहरुलाई राज्यले चिनेर  त्यहीअनुसारको व्यवहार गर्नुपर्ने पहारीले बताए । संघले तराई मधेसमा भइरहेको शोषण उत्पीडितविरुद्ध र मधेसी दलहरुले फैलाएको भ्रम चिर्न तराई मधेस जागरण अभियान सञ्चालन गर्ने पनि घोषणा गरेको छ । यसका लागि संघले १८ जिल्लामा अभियान चलाउने भएको छ ।
अभियानका लागि संघले केन्द्रिय प्रतिनिधि पनि तोकेको छ । दुई महिनासम्म अभियान सञ्चालन हुनेछ । संघले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरमा भएको दुव्र्यवहारप्रति पनि आपत्ति जनाएको छ । संघले दोषिमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रपतिको अपमान मुलुकै अपमान भएको संघको निष्कर्ष छ । ईकान्तिपुरमा समाचार छ ।