एक महिनामा १३ किशोरी तथा महिलाको बलात्कार

सञ्चारिका समूह नेपालले गरेको सञ्चार अनुगमनको प्रतिवेदनले एक महिनामा १३ किशोरी तथा महिलाको बलात्कार भएको देखाएको छ । 
 
सञ्चारिकाले गत मङ्सिर १ देखि २९ गतेसम्म १५ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमन प्रतिवेदनले एक महिनामा किशोरी तथा महिलामाथि सो घटना भएको देखाएको छ भने अनुगमन अवधिमा बलात्कारसम्बन्धी ४० वटा समाचार सामग्री प्रकाशित भएका थिए । 
 
अनुगमनमा खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक राजधानीबाट प्रकाशित हुने विभिन्न दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री समेटिएको थियो। 
 
महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो जसमा बलात्कार, यौन दुव्र्यबहार, घरेलु हिंसा, दाइजो, मानव बेचबिखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी र राजनीतिक रहेका थिए । 
 
त्यस्तै, सो एक महिनामा हत्याका आठ घटना भएका थिए भने हत्यासम्बन्धी ४० वटा समाचार सामग्री प्रकाशित भएका थिए । यौन दुव्र्यवहारको एक घटना भएको थियो । सात समाचार सामग्री प्रकाशित भएका थिए । स्वास्थ्य अधिकार हननको एउटा घटना थियो भने यससम्बन्धी ५३ वटा समाचार सामग्री प्रकाशित भएका थिए । रासस