अख्तियारद्धारा घुससहित यातायात व्यवस्था विभाग मीनभवनका प्राविधिक निर्देशकलाई कार्यस्थलमा नै पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित यातायात व्यवस्था विभाग मीनभवनका प्राविधिक निर्देशक नवीनकुमार पोखरेललाई विहीबार कार्यस्थलमा नै पक्राउ गरेको छ । 
आयोगको स्टिङ अप्रेसनका क्रममा विभागका प्राविधिक निर्देशक पोखरेल पक्राउ परेका हुन् ।
विद्युतीय स्कुटर आयातको अनमुति दिनेक्रममा निर्देशक पोखरेलले एक सेवाग्राहीसँग रु दुई लाख घुस मागेको आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
सहायक प्रवक्ता रिजालका अनुसार इलेक्ट्रिक स्कुटर आयातका क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना प्राप्त भएपछि आयोगको टोली विभाग पुगेको थियो । आयोगले रु एक लाख ८० हजारसहित पोखरेललाई पक्राउ गरेको हो ।
सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा काम गराउन अवाञ्छित तवरले घुस तिर्नुपरेको भन्ने आशयका समाचार प्रकाशित भएपछि आयोगको टोलीले त्यस्ता निकायमा निगरानी बढाएको छ । रासस