न्यूयोर्कमा आइएसको समर्थन गर्ने एक जनालाई पक्राउ

अमेरिकाको न्यूयोर्कमा इस्लामिक स्टेट (आइएस)को समर्थन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले २५ वर्षीय एमानुएल लचम्यानलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिले न्यूयोर्कको रोचेस्टर क्षेत्रमा चरमपन्थी हमलाको योजना बनाइरहेको प्रहरीको आरोप छ ।
अमेरिकी सह महान्यायाधिवक्ता जोन कार्लिनले पक्राउ परेका एमानुएलले नयाँ वर्षको पूर्वसन्ध्यामा सर्वसाधारणलाई मार्ने घातक योजना बनाएको आरोप लगाएका छन् । उनले रोचेस्टर क्षेत्रमा बम, चक्कु र अन्य हतियारसहित सर्वसाधारणमाथि आक्रमण गर्ने योजनामा रहेकै अवस्थामा एमानुएल पक्राउ परेको बताए ।
यसैबीच बेल्जियमको राजधानी ब्रसेल्समा नयाँ वर्षको मौका पारेर आक्रमण गर्ने योजना बनाइरहेको आरोपमा ६ जना पक्राउ परेका छन् । ब्रसेल्सको बाहिरी इलाकामा प्रहरीले गरेको छापामारीका क्रममा आक्रमणको योजना बनाइरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरु गत नोभेम्बरमा फ्रान्सको पेरिसमा भएको आतंकवादी हमलासँग सम्बन्धित व्यक्ति भने नभएको जनाएको छ ।
यसअघि पनि बेल्जियम प्रहरीले दुई जना संदिग्घलाई पक्राउ गरेको थियो । चरमपन्थी आक्रमण हुनसक्ने आशंकामा बेल्जियमले यस वर्ष नयाँ वर्षका अवसरमा गरिने आतिसवाजी रद्द गरेको थियो । (एजेन्सी)