उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसमा आन्दोलनरत दललाई मुलुकको गम्भीरतालाई ध्यानमा राखी वार्ता र छलफलबाट समस्या समाधान गर्न आग्रह गरेका छन्।
झापाको भद्रपुरस्थित मेची नदीमा निर्माणाधीन मेची पुलको स्थलगत निरीक्षण एवम् अवलोकनपछि पत्रकारसँगको भेटघाटमा उनले नेपाली जनतालाई दुःख, कष्ट र पीडामा धकेलेर आन्दोलन गरिरहनु नेपाली जनताप्रतिको जिम्मेवारी हुन नसक्ने बताउँदै ती दलले सरकारको वार्ता टोलीसँग निर्णायक वार्ता गरेर समास्याको समाधान खोज्नुको विकल्प नरहेको बताए।
उनले प्रदेश र सीमाङ्कनका विषयमा मधेसवादी दलले गरिरहेको आन्दोलनलाई लम्ब्याउनुभन्दा पनि वार्ता र छलफलबाट निकास खोज्नु उत्तम हो भन्दै भारतको अघोषित नाकाबन्दी छिट्टै हट्ने विश्वास दिलाए। उनले नाकाबन्दी र आन्दोलनका कारण देशमा अहिले ६ खर्बको क्षति भएको जानकारी दिए। रासस