सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकता छानविन गर्न माग गर्दै युवा संघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारको नेतृत्व गरिरहेको एमालेसमर्थित युवा संघले शनिबार गृह मन्त्रालय पुगेर गृहमन्त्री शक्ति बस्नेतलाई चार पृष्ठ लामो ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा महतोले झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको दाबी गर्दै उनको नागरिकता रद्ध गरी कानून बमोजिम कारबाही गर्न माग गरिएको छ ।
सद्भावनाका अध्यक्ष महतोले सर्लाहीको बबरगंज गाविस स्थायी ठेगाना राखी नागरिकता लिएका छन्। युवा संघका मधेश ब्युरो प्रमुख संजिवकुमार झाले आफुहरुसँग महतोको नागरिकता नक्कली भएको प्रमाण रहेको भन्दै सरकारले तत्काल छानविन गरेर नागरिकता बदर गर्नुपर्ने बताए।
सद्भावनाका अध्यक्ष महतोले झुटो विवरणका आधारमा नागरिकता लिएको विषयमा छानविन गर्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ सालको फागुन १ गते गृह मन्त्रालयलाई पत्राचार नै गरेको थियो। अख्तियारको पत्रपछि गृह मन्त्रालयले यस विषयमा स्पष्ट पार्न सर्लाही जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेकामा सर्लाही जिल्ला प्रशासन कार्यालयले २०६९ सालको जेठ २९ गते महतोको नागरिकता छानविनका लागि कार्यालयमा कुनै अभिलेख नरहेको जवाफ दिएको थियो।
गृहमन्त्री शक्ति बस्नेतले नागरिकताको विषयमा दलहरु अहिले छलफलको क्रममा रहेको भन्दै महताको नागरिकता सक्कली भए/नभएको बारेमा मन्त्रालयले उपयुक्त विधिबाट बुझ्ने बताए। सेतोपाटीमा समाचार छ ।