रसुवामा नक्कली भूकम्प पीडित बढेपछि छानविन समिति गठन

भूकम्प पीडितको परिचयपत्र वितरणमा गुनासो बढेपछि जिल्ला दैविक प्रकोप उद्धार समिति रसुवाले प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा छानविन समिति गठन गरि आवश्यक कारवाहीको प्रकृया अगाडि बढाएको छ ।
जिल्लामा वास्तबिक पीडितहरुले परिचयपत्र नपाएको र नक्कली परिचयपत्रवालाले राहत रकम लगायतका सुविधा लिएको गुनासो र उजुरी जिल्ला प्रशासन कार्यालयमा आएपछि अधिकार सम्पन्न समिति गठन गरि आवश्यक कार्य अगाडि बढाईएको हो ।
राजपत्राङ्कीत द्वितीय श्रेणीका अधिकृतको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा सम्बन्धित गाँउ विकास समितिका सचिवको तीनवटा टोली गठन गरि परिचयपत्रको ब्यवस्थापन र छानविन गरी दश दिनभित्र प्रतिवेदनसमेत दिन समितिलाई गाँउमा खटाई सकिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
नक्कली भूकम्प पीडित राहत परिचयपत्र बनाई सरकारी राहत लिनेहरुलाई तत्काल ठगीको मुद्दा चलाई राहत रकम फिर्ता लिई कानुन बमोजिम कारवाही गरिने उनले जानकारी दिए ।
जिल्लाका १८ गाविसमा ११ हजार ४४० घर पूर्ण क्षति भएकोमा अहिलेसम्म ११ हजार १८६ परिवारले मात्र १५ हजार राहत बुझेका प्रशासनको तथ्याङ्क छ भने सोही समयमा आफ्नो घर छुट भई भूकम्प पीडित पारिवारिक परिचय पत्र पाउन करिब तीन सय परिवारले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।  इमेजखबरमा समाचार छ ।