प्रधानमन्त्री के.पी.शर्मा ओलीले कर्णालीको विकासका लागि महत्वाकांक्षी योजना बनाएर काम गर्नुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको चौथौ बैठकमा प्रधानमन्त्री ओलीले साविकका क्रमागत योजनाले मात्र कर्णालीलाई विकासको मुल प्रवाहमा ल्याउन नसकिने बताए।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रतिष्ठानको बैठकमा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले ‘अब पनि कर्णालीमा कोदालोले खनेर बाटो पुर्याउनु पर्छ’ भन्ने मान्यता राख्ने हो भने विकास हुन नसक्ने बताए।
‘अब कर्णालीमा फरक फरक संस्था र निकायबाट फरक फरक किसिमका विकासका योजना एकैचोटी सञ्चालन गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘जसले गर्दा त्यहाँ एकै चोटी विकासको लहर आउन सकोस्।’
कर्णालीमा विकासको लहर ल्याउनका लागि बजेटमा भन्दा योजनामा ध्यान दिन प्रधानमन्त्रीले आग्रह गरे। ‘बजेट कति लाग्छ भनेर चिन्ता नगर्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘महत्वाकांक्षी योजना बनाएर ल्याउनुहोस्। सम्बन्धित मन्त्रालयमा प्रस्ताव गर्नुहोस्। सहयोग चाहियो भने म कहाँ आउनुहोस्। कर्णालीलाई सहयोग गर्न म सधैं तयार छु।’
२०६८ सालमा जुम्लाको खलंगामा स्थापना भएको प्रतिष्ठानमा हाल स्वास्थ्य सहायक (एच.ए.) र स्टाफ नर्सको पढाई हुन्छ। यो प्रतिष्ठानले कर्णालीसहित त्यस भेगका ९ वटा जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, बझाङ, अछाम र बाजुरालाई कार्यक्षेत्र बनाएको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए। हाल ८० जना विद्यार्थी अध्ययनरत प्रतिष्ठानमा ४५ प्रतिशत आरक्षण कर्णालीलाई छुट्याएको भण्डारीले जानकारी दिए।
प्रतिष्ठानले छलफलका लागि ९ वटा प्रस्ताव राखेकोमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीको कार्यव्यस्तताले आजै साँझ ४ बजेसम्मका लागि बैठक स्थगित भएको छ । इमेजखबरमा समाचार छ ।