आगामी माघ २ गतेदेखि राष्ट्रिय पुननिर्माण काम सुरु हुने

आगामी माघ २ गतेदेखि राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफ्नो काम थाल्ने भएको छ। राष्ट्रपति बिद्या भण्डारीले रानीपोखरी पुनर्निर्माणको शुभारम्भ गरेसँगै राष्ट्रिय पुननिर्माण प्राधिकरणले काम थाल्ने छ।
 
पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले  माघ २ गते राष्ट्रिय पुननिर्माण महाअभियान थालनी गर्न लागेको जानकारी दिए। महाअभियान २०७३ वैशाख १२ गतेसम्म चल्ने उनले बताए।
 
‘१९९० सालमा माघ २ गते भूकम्प आएको थियो, त्यसैले यही  दिनदेखि राष्ट्रिय पुननिर्माणको काम थालनी गर्ने भएका छौं,’ ज्ञवालीले भने।
 
राष्ट्रिय पुननिर्माणको प्राधिकरणले परामर्श परिषद, निर्देशक समिति  र कार्यकारी समिति गठन गरिसकेको छ। शुक्रबार परामर्श परिषद, निर्देशक समिति  र कार्यकारी समितिका पदाधिकारीलाई प्राधिकरणले स्वागत गरेको थियो।
 
माघ २ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यविनायक  नगरपालिकास्थित बुङ्‌मति क्षेत्रको पुनर्निमाणको गुरुयोजना लोकार्पण गर्ने योजना बनाएको छ। त्यस्तै माघ २ गते ‘वैशाख १२ मा गइहाल्यो भूँइचालो! सुरक्षित पुनर्निर्माणमा जुट्ने पालो’ भन्ने नाराका साथ १८ औं राष्ट्रिय भूकम्प दिवस मनाइने भएको छ।
 
 पुननिर्माणका लागि तयार गरिएका घरका  नक्सा भने माघ ८ गतेभित्रमा जनातसामु पुर्‍याउने शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रमेश प्रसाद सिंहले जानकारी दिएका छन्।
 
साथै गोर्खाको बारपाकबाट एकिकृत बस्ती निर्माणको काम थाल्ने विभागको तयारी रहेको उनले जानकारी दिए। एकिकृत बस्ती निर्माणको लागि एक हप्ता भित्रै अध्ययन समितिको निर्माण गर्न लागेको समेत सिंहले जानकारी दिए।
 
विभागका अनुसार वैशाख १२ को भूकम्पपछि पुननिर्माणको काम अघि बढाउन देशमा करिब ५० हजार तालिम प्राप्त  निर्माणकर्मीको आवश्यकता छ।
 
निर्माणकर्मीको तालिममा एकरुपता ल्याउन  भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम सञ्चालन कार्यविधी २०७२ पनि लागु भइसकेको छ। जसअन्तर्गत हालसम्म १२ हजार ५ सय जना निर्माणकर्मीले यस बिषयमा तालिम लिइसकेको महानिर्देशक सिंहले जानकारी दिएका छन्। साथै सेभ द चिल्ड्रेन, गैरआवासीय नेपाली संघ (एनआरएन) लगायत अन्य संस्थाको पहलामा १० हजार घर निर्माण गर्ने सम्झौता भइसकेको सिंहको भनाई छ। उनका अनुसार सेभ द चिल्ड्रेनले ६ हजार घर निर्माण गर्ने छ भने एनआरएनले एक हजार घर निर्माण गर्ने छ। सेतोपाटीमा समाचार छ ।