कांग्रेसका सभापति सुशील कोइरालाद्धारा मधेसका मुद्दा सम्बोधन गर्न एमाले बाधक भएको आरोप

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मधेसका मुद्दा सम्बोधन गर्न सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले बाधक भएको आरोप लगाएका छन् ।
लिला-यशोदा दाहाल स्मृति प्रतिष्ठानले प्रकाशित गरेको ‘प्रजातन्त्र सेनानी’ पुस्तकको शनिबार राजधानीमा लोकार्पण गर्दै कांग्रेस सभापति कोइरालाले मधेसका मुद्दाका विषयमा सबै पार्टीले समान धारणा बनाउनुपर्ने बताए ।
उनले मधेसी दलका जायज माग पूरा गर्न ढिलाइ गर्न नहुने भएपनि यसमा सरकार तयार नभएको आरोप लगाए ।
कांग्रेस सभापति कोइरालाले वार्ता र सहकार्यकै माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए । उनले मुलुकका समस्या झन् जटिल बन्दै गएको भन्दै मधेसी दललाई भित्तामा पुर्‍याउने सोचले समस्या समाधान नहुने स्पस्ट पारे ।
हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै नेपाली समान हुने भएकाले कांग्रेसले सबैलाई समान व्यवहार गर्ने उनको भनाइ थियो ।
सभापति कोइरालाले राष्ट्रियता, स्वाधिनता र लोकतन्त्रमा आँच नआउने गरी समस्या समाधान गर्न सकिने बताए ।
सभापति कोइरालाले नेपालमा जारी भएको संविधान पूर्ण लोकतान्त्रिक भएकाले सबै मिलेर कार्यान्वयन गर्नुको विकल्प नभएको स्पस्ट पारे ।
लिला-यशोदा दाहाल स्मृति प्रतिष्ठानका अध्यक्ष बालकृष्ण दाहालले सम्पादन गरेको पुस्तकमा लोकतान्त्रिक आन्दोलनको याथार्थता र नेपाली कांग्रेसको मौलिक पहिचान, राष्ट्रिय योगदानलगायतका विषय समेटिएका छन् । – इमेजखबरमा समाचार छ ।